ओली र बास्तोला पक्षले हटायो महासचिव विप्लव र प्रवक्ता विश्वकर्मा, संयोजकमा बस्तोला चयन

मूलखबर संवाददाता
काठमाडौं

नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट कारवाहीमा परेका हेमन्तप्रकाश ओली‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलापक्षको भेलाले पार्टीका महासचिव विप्लवलाई महासचिव पदबाट हटाएको छ।

चितवनमा जारी ओली र बास्तोलापक्षको भेलाले महासचिव विप्लव सहित प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई हटाउने निर्णय गरेको केन्द्रीय सदस्य गुणराज लोहनीले बताए। बहुमत पार्टीको केन्द्रीय समिति बैठकले विप्लवलाई महासचिवबाट हटाएर संयोजकमा बस्तोलालाई बनाएको लोहनीले बताए।

‘पार्टीको बहुमत केन्द्रीय समिति बैठकले गरेको निर्णय विप्लवजीहरुले उल्टाउनु भयो । पार्टीको विधि विधान विपरित स्थानीय चुनावमा जान थाल्नुभयो। हामीले पार्टी निर्णयलाई समाएर बसियौ। उल्टै उहाँहरुले हामीलाई कारवाही गर्नुभयो’ लोहनीले भने,‘हामी विप्लव जीलाई महासचिवबाट हटाएर पार्टी संयोजकमा धर्मेन्द्र सरलाई बनायौ।’

पार्टी केन्द्रीय समिति सदस्यको बुहमत भएकाले आधिकारिकता आफूहरुले पाउँने लोहलीले बताए। भोलि सकिने ओली बास्तोलापक्षको भेलाले पार्टीका सबै निर्णय सार्वजनिक गर्ने भएको छ। चितवन भेलामा ४० भन्दा बढी केन्द्रीय सदस्यको दाबी गरिएको छ।