भरतपुरमा २२ गते सत्तारुढ गठबन्धनले पहिलो चुनावी सभा गर्ने, शिर्ष नेताहरुले सम्बोधन गर्ने

मूलखबर संवाददाता
काठमाडौं

स्थानिय निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीीतक दल र उमेदवारहरु चुनाव प्रचार अभियानमा छन् । यसै क्रममा सत्तारुढ पाँच दलीय गठबन्धनले भरतपुर महानगरपालिकामा २२ वैशाखमा संयुक्त आमसभा गर्ने भएको छ । आमसभालाई सत्तारुढ गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् । नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारीले दिएको जानकारी अनुसार सभा भव्य हुनेछ । चुनावी सभामा चितवन लगायत आसपासका जिल्लाबाट समेत मानिसहरुको सहभागिता हुनेछ ।

भरतपुरको हाकिम चोकस्थित साझा बसपार्कमा हुने चुनावी सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसभा सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने छन् ।

तीन पूर्व प्रधानमन्त्रीसँगै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, नेता शेखर कोइराला, जसपा र राष्ट्रिय जनर्मार्चाका नेताहरुले पनि उक्त आमसभामा सम्बोधन गर्ने छन् ।

भरतपुर महानगरमा सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा माओवादी केन्द्रकी रेनु दाहाल प्रमुखको उम्मेदवार छिन् । भरतपुर महानगरलाई सत्ता गठबन्धन र प्रतिपक्षी नेकपा एमालेले प्रतिष्ठाको विषय बनाएको छ ।

गठबन्धनले केन्द्रीत रुपमा गर्न लागेको यो पहिलो चुनावी सभा हो । यस पछि देशका अन्य स्थानमा पनि चुनावी सभाहरु गर्ने कार्यक्रम गठबन्धनले बनाएको छ ।