भ्रष्टाचारविरुद्धको अभियानको साथमा सधैं रहनेछु : सभामुख
सभामुख अग्नीप्रसाद सापकोटाले भ्रष्टाचारका विरूद्व निशाना लगाइरहनु पर्ने बताएका छन् । त्यसको विरुद्ध निशाना नसोझ्याउने हो भने मुलुकलाई नै सिध्याइदिने सापकोटाले बताए । आफूले जानेर दुई पैसा पनि भ्रष्टाचार नगरेको भन्दै सापकोटाले भ्रष्टाचारविरुद्धको अभियानको साथमा आफू सधैं रहने प्रतिबद्धता व्यक्त गरे ।
आइतबारबाट काठमाडौंमा सुरु भएको ‘भ्रष्टाचार विरुद्ध कार्टुन प्रर्दशनी’को उद्घाटन गर्दै सभामुख सापकोटाले भ्रष्टाचार बढदै गएकोतर्फ सचेत गराएका थिए । साथै त्यसलाई खवरदारी गर्न ढिलाइ गर्न नहुने उनको भनाइ थियो ।
- ‘भ्रष्टाचार भनेको सामान्य एउटा बजेट हिनामिनको कुरा मात्रै होइन । भ्रष्टाचार भनेको राष्ट्रियतासँग जोडिएको कुरा हो । यो बढ्दै गयो र यस्तै गरी हामीले खबरदारी गरेनौं भने यसविरुद्ध निशाना सोझ्याएनौं भने एक दिन यसले हाम्रो प्यारो मातृभूमिलाई खाइदिन्छ,’ सभामुख सापकोटाले भने । प्रदर्शनीमा देबेन्द्र थुम्केली, याेगश खपांगि, अविनलगायत २७ जना कार्टुनिष्टहरूले काेरेकाे कार्टुन राखिएको छ ।