लमजुङका प्रसारण लाइन पीडितले उर्जा मन्त्रीलाई बुझाए ज्ञापन पत्र, समस्या समाधानमा गम्भीर छाैं- उर्जामन्त्री
काठमाडौं, २ बैसाख
लमजुङ जिल्लाका प्रसारण लाइन प्रभावित र पीडितले उर्जा जलश्राेत तथा सिंचाइ मन्त्री पम्फा भुषाललाई समस्या समाधानका लागि पहल गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । उर्जा मन्त्रालयमा भएको भेटमा मन्त्री भुषालले उच्च भाेल्टेजका विदुत प्रसारण लाइनमा देखा परेका समस्या समाधानमा आफु गम्भीर भएर लागेकाे बताउनुभएको छ ।
मर्स्याङदी करिडोर २२० केभी प्रसारण लाइन निर्माणमा पीडित समुदायको तर्फबाट मन्त्रालयमा ज्ञापन पत्र बुझ्दै मन्त्री भुषालले समस्या समाधानका लागि अध्ययन भइरहेको बताउनुभयाे ।
लमजुङको मर्स्याङदी गाउँपालिकाकाे घेर्मु, खुदी, बेशिशहर नगरपालिका वडा नं १० बाँझाखेत, दाेर्दी गापा वडा नं २ अर्चलबाेट, वडा नं १ भारते, राइनास नगरपालिका वडा नं ६,७,८ का पीडितका प्रतिनिधिहरूले मन्त्रीसमक्ष नेपाल विद्युत प्राधिकरणले पीडितलाई परामर्श नगरीकन एकतर्फी रूपमा गरेको निर्णय मान्न नसकिने, टावरहरू बस्ति र उव्जाउयाेग्य फाँटमा नराखी अन्तै सारिनुपर्ने, राख्नैपर्ने भएमा उचित मुअाव्जा र क्षतिपूर्ति दिनुपर्ने, तारमुनि पर्ने जमिन बैकिङ प्रयाेजनमा उपयाेगी हुने व्यवस्था गरिनुपर्ने, प्रभावक्षेत्रकाे प्रावधान ९ मिटर र १५ मिटरबाट बढाई, २५ र ५० मिटर कायम गर्नुपर्ने, क्षतिपूर्ति रकम सत प्रतिशत उपलब्ध गराउनुपर्ने अादि माग राखेका थिए ।
मन्त्री भुषालले प्रभावितहरूकाे समस्या दिर्घकालिन रूपले समाधान हुने विकल्पमा अध्ययन भइरहेको बताउनुभएको थियाे ।
मुअाव्जा र क्षतिपुर्ती चित्तबुझ्दाे नभएको र परामर्श र जानकारी समेत नदिई जबर्जस्ती गरेकाे भन्दै पीडितहरूकाे आन्दाेलन र विराेधका कारण बाँझाखेत र धमिलिकुवा क्षेत्रमा टावर निर्माण हुन सकेकाे छैन भने घेर्मु, अर्चलबाेट र भारतेमा टावर बनेको भएतापनि तार तान्ने काम हुन सकेकाे छैन । बाँझाखेतमा र धमिलिकुवामा एलाइनमेन्ट नै परिवर्तनको लागि स्थानीय सरकारले समेत सुझाव दिएका छन् भने दाेर्दी गाउँपालिकाले प्रभावित र पीडितहरूकाे समस्या समाधान गर्न सुझाव सिफारिस गरेको छ ।