गठबन्धनले तय गर्याे सिट बाँडफाँटका आधारहरु
सत्तारूढ गठबन्धनका सहभागी दलहरूले स्थानीय निर्वाचनका लागि गठबन्धनबीच सिट बाँडफाँडको अाधार तय गरेका छन् । बालुवाटारमा मंगलबार बसेकाे पांच दलको शीर्ष नेतृत्व तहकाे बैठकले महानगर र उपमहानगरमा केन्द्रबाट तय गर्ने, पालिकाकाे प्रदेश तहले गर्ने र वडाको पालिका र जिल्लाले गर्ने गरि कार्यविधि पनि बनाएको छ । यस्ता छन् गठबन्धनभित्र सिट बाँडफाँटका आधारहरु –
(१) २०७४ को स्थानीय निर्वाचनमा गठबन्धनमा रहेका दलहरू जो प्रमुखमा विजयी भएका छन् तिनलाई पहिलो आधार मान्ने। (नेकपा (एकीकृत समाजवादी) को पक्षमा कायम रहेका जनप्रतिनिधिहरुलाई पनि यसैअनुसार मान्ने ।)
(२) २०७४ को निर्वाचनमा दलका उम्मेदवारहरुले पालिका, वडामा प्राप्त गरेको मतको मतभारलाई आधार मान्ने ।
(३) २०७४ को स्थानीय तह निर्वाचनमा विजय प्राप्त गरेको नभए पनि स्थानीय तहमा उपस्थिति रही यथाशक्य गठबन्धनभित्र अन्य दललाई पनि सहभागी गराउने ।
(४) २०७४ को स्थानीय तह निर्वाचनमा गठबन्धनबाहेकका दल विजयी स्थानमा गठबन्धनभित्रका दलहरुले उक्त निर्वाचनमा प्रमुख पदमा प्राप्त मतलाई आधार बनाउने । यसको साथै उक्त तहमा दलका उम्मेदवारहरुले प्राप्त गरेको मतभारलाई पनि आधार बनाउने ।
(५) नेकपा (एकीकृत समाजवादी) २०७४ को निर्वाचनमा पार्टीको रुपमा सहभागी नभएको हुँदा माथि बुँदा नम्बर ४ मा उल्लेखित आधारहरुले मात्र नहुने र उक्त पार्टी नेकपा (एमाले) विभाजित भएर बनेको मुख्य शक्ति रहेको यथार्थतालाई मनन गर्ने ।
(६) गठबन्धनमा रहेका दलहरुबीच सिट बाँडफाँट गर्दा माथि उल्लेखित आधारहरुका अतिरिक्त वर्तमान समयमा गठबन्धनका दलहरुको संगठनात्मक अवस्था र जनसमर्थनलाई पनि महत्वका साथ ध्यान दिने ।
(७) गठबन्धनभित्र रहेका दलहरुबीच मात्रै चुनावी तालमेल गर्न पाउने ।
मापदण्ड :
१. महानगर र उपमहानगरपालिका मेयर तथा उपमेयरको सिट बाँडफाँडको निर्णय पाँच दलीय गठबन्धनको केन्द्रीय संयन्त्रले गर्ने ।
२. नगर र गाउँपालिकाको तालमेलको सिट बाँडफाँट वैशाख ३ गतेभित्र जिल्ला संयन्त्रले प्रदेशलाई र प्रदेश संयन्त्रले निर्णय गरि वैशाख ५ गतेभित्र केन्द्रलाई पठाउने ।
३. सबै पालिकाका वडाध्यक्ष र सदस्यहरूको सिट बाँडफाँटको जिल्ला संयन्त्रले वैशाख ३ गतेभित्र टुंगो लगाउने ।
४. प्रदेश तथा जिल्ला संयन्त्रमा प्रत्येक दलको प्रमुख सहित दुई दुई प्रतिनिधि रहने ।
५. प्रत्येक तहको दलीय संयन्त्रमा निर्णय लिन आ आफ्नो आवश्यकता अनुसार प्रतिनिधि आमन्त्रण गर्न सकिने ।