अस्पतालबाट बालुवाटारमा प्रचण्ड : शान्ति प्रकृयाका बाँकि सम्पन्न गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

मूलखबर संवाददाता
काठमाडौं, ८ चैत

नेकपा (माओवादी केन्द्र)ले सशस्त्र द्वन्द्वका क्रममा घाइते तथा अपांग भएका व्यक्तिहरूलाई सुविधासहित गणतान्त्रिक सेनानीको परिचय पत्र र सम्मान पत्र दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड  र नेता नारायणकाजी श्रेष्ठले मंगलबार शान्ति प्रक्रियासँग जोडिएको विषयमा ध्यानाकर्षण गराएका हुन् ।

बीर अस्पतालमा उपचाररत घाइते जनमुक्ति सेना र अन्य अपांग विरामी भेटेपछि प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्नका लागि पहल कदमी लिन पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । ‘सशस्त्र द्वन्द्वमा घाइते भइ अपाङ्गता भएका व्यक्तिहरूलाई सुविधासहित गणतान्त्रिक सेनानीको परिचय पत्र र सम्मान पत्र वितरण गर्नुपर्ने बारे कुरा राखिएको छ,’ उनले भने, ‘सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरूको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि–२०७४ लाई संशोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।’

प्रधानमन्त्रीलाई सशस्त्र द्वन्द्वमा घाइते भइ अपांगता भएका व्यक्तिहरूको लागत संकलन कार्यदलमा सूचीकृत हुन छुटेका घाइते तथा अपांगतालाई फेरि सूचीकृत हुने मौका उपलब्ध गराउन पनि माओवादीले आग्रह गरेको हो । ‘जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलन लगायतका प्रगतिशील आन्दोलनमा सहिद हुनु भएकाहरूको परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने पुरक बजेटको व्यवस्थालाई कार्यविधि बनाइ यथाशिघ्र कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ,’ उनले भने ।

सशस्त्र द्वन्द्वका क्रममा जेल जीवनयापन गरी यातनाले पीडित भएका व्यक्तिहरूलाई सम्मान पत्रसहित राहत उपलब्ध गराउनका लागि प्रधानमन्त्रीसँग आग्रह गरिएको पनि मल्लले जानकारी दिए ।

यि हुन् प्रचण्डले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका विषयहरू :

• जनयुद्ध/सशस्त्र द्वन्द्व(डकुमेन्ट भएको सरकारी भाषा)मा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि–२०७४ लाई संशोधन,
• जनयुद्ध/सशस्त्र द्वन्द्व(डकुमेन्टमा भएको सरकारी भाषा)मा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुको लागत संकलन कार्यदलमा सूचीकृत हुन छुटेका घाइते तथा अपाङ्गताहरुलाई सूचीकृत गर्ने,
• जनयुद्ध/सशस्त्र द्वन्द्व(डकुमेन्टमा भएको सरकारी भाषा)मा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुलाई सुबिधा सहित गणतान्त्रिक सेनानीको परिचय पत्र र सम्मान पत्र वितरण,
• जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलन लगायतका प्रगतिशील आन्दोलनमा सहिद हुनुभएकाहरुको परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने पुरक बजेटको व्यवस्थालाई कार्यविधि बनाई यथासिघ्र कार्यान्वयन गर्नुपर्ने,
• जनयुद्ध/सशस्त्र द्वन्द्व(डकुमेन्टमा भएको सरकारी भाषा) का क्रममा जेल जीवनयापन गरी यातनाले पीडित भएका व्यक्तिहरुलाई सम्मान पत्रसहित राहत उपलब्ध गराउने आदि।
– यो विषय नेपालको शान्ति प्रक्रियाकै अभिन्न अंग भएकोले यसको व्यवस्थापन गर्नु राज्यको कर्तव्य हुने कुरामा प्रधानमन्त्री सकारात्मक देखिनु भएको छ।