एक कराेड पटक हेरेपछि सपुतले हटाए पिरबाट देहव्यापारकाे सिन

मूलखबर संवाददाता
काठमाडौं, ५ चैत

चर्चामा रहेको गीत ‘पिर’को भिडियो एक करोड पटक हेरिसकेपछि साे भिडियोबाट विवादित दृश्य हटाएर गायक प्रकाश सपुतले नयाँ भिडियो सार्वजनिक गरेका छन् ।

गायक प्रकाश सपुतले भिडियोमा विवादित बनेको यौनकर्मी पूर्वलडाकूको दृश्य हटाएर नयाँ भिडियो अपलोड गरेका छन् ।

सपुतले यसअघि पनि उक्त दृश्यलाई लिएर विवाद भएपछि त्यसमा आत्मालोचना गरेका थिए । सपुतको गीतिकथामा पूर्वलडाकु एक महिला पात्रलाई यौनकर्ममा संलग्न भएको रुपमा प्रस्तुत गरिएको थियो ।

जसलाई लिएर माओवादीका नेता तथा कार्यकर्ताहरूले कडा शब्दमा आपत्ति जनाएका थिए । केही नेताहरूले त उक्त दृश्यलाई लिएर गीत हटाउन चेतावनी समेत दिएका थिए ।

गायक सपुतले भने नयाँ भिडियो अपलोड गरेपछि विवादित बनेको दृश्य हटाइएको प्रतिक्रिया दिएका छन् । उनले पहिलो भिडियो १ करोड पटक हेरिसकेपछि उक्त भिडियो हटाएर परिमार्जित भिडियो अपलोड गरेका हुन् । नयाँ भिडियो राखेपछि उनले भनेका छन्, ‘भयो अब, पुग्यो !’ उनले नयाँ भिडियोमा ‘दृश्य सम्पादनपछि’ भनी उल्लेख गरेका छन् ।