एमसिसि भर्सेस गठबन्धन : एमालेकाे दुइजिब्रे नीतिले समस्या, कांग्रेस र माओवादीसँग बार्गेनिङ गर्दै
अहिले नेपाली राजनीति एमसिसिमय बनेकाे छ । सत्ता गठबन्धन एमसिसिकै कारण समस्यामा पर्दै गएको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनिर्णयको बन्दी मात्रै बनेको छैन, एमसिसिकै कारण गठबन्धन टुटेर फेरि सत्ताराेहण गर्न पाइने आशामा पर्खिरहेको छ । नेपाली कांग्रेस स्पष्ट रूपमा एमसिसिकाे पक्षमा र सत्ता गठबन्धनका अन्य दलहरू यथास्थितिमा एमसिसिकाे विपक्षमा खडा भईरहँदा एमाले भने कुनै निर्णय नगरी बसेकाे छ । उ गठबन्धन ताेडिए पक्षमा जाने नताेडिएसम्म विपक्षमा बस्ने रणनीतिमा छ ।
राष्ट्रिय महत्त्वकाे विषय मात्रै नभई राष्ट्रघाति प्रकृतिका प्रावकान भएको एमसिसि जस्तो सम्झाैताबारेकाे धारणा बनाउन पनि सत्ता बार्गेनिङ गर्ने एमालेकाेे रबैया दुईजिब्रे नै भएको विश्लेषकहरूकाे बुझाई छ ।
बिहीबार प्रमुख प्रतिपक्षी दल एमालेसँग कांग्रेस र माओवादी केन्द्रका नेताहरुले छुट्टाछुट्टै भेट गरे । एमसीसी अनुमोदन गर्ने नगर्ने तनावकाबीच सत्ता गठबन्धनका नेताहरुले सहमति खोज्ने काेसिस गरेपछि प्रमुख प्रतिपक्षी दल एमालेले दुवै दलसँग आफ्नाे बटमलाईन प्रस्तुत गरेको छ ।
दलहरुबीच जटिल बन्दै गएको परिस्थितिबारे नै समीक्षा भएकाे छ । एमालेले अहिले के पोजिसन राख्छ र त्यसमा कांग्रेस र माओवादीले कसरी त्यो कुरालाई अघि बढाउन तयार हुन्छन् त्यसले नै नयाँ राजनीतिक कोर्ष कता जान्छ भन्ने निर्धारण गर्ने अवस्था छ । बिहीबार दिनभर र साँझको दौडधुपमा एमालेले दुवै दलसँग के-के प्रस्ताव राख्यो त ?
एमाले उपाध्यक्ष बिष्णु पौडेलले एमालेले दुवै दललाई तीन-तीन वटा प्रस्ताव राखेको जानकारी दिए ।
कांग्रेससँग एमाले प्रस्ताव
- सभामुख हटाउनुपर्ने ।
- नेकपा एसका १४ जना सांसद निष्कासन गर्नुपर्ने ।
- सदनमा भाग लिने अवस्था बनेपछि एमसीसीसहितका बिषयमा पोजिसनसहित प्रस्तुत हुने ।
एमालेले पेश गरेका यी प्रस्तावमा कांग्रेस नेताहरुले ठोस धारणा दिन नसकेको उनले जानकारी दिए । तर यी विषयमा छलफल गरेर जान सक्ने आधार भने बनेको छ । एमालेसँगका दुवै बैठकमा कांग्रेस नेताहरुले एमसीसी पास नगर्दा अन्तराष्ट्रिय रुपमा राम्रो सन्देश नजाने भएकाले यसमा एमालेले सहयाेग गर्नुपर्ने प्रस्ताव गरेका थिए । गठबन्धनमा अन्य दलले सरकारले अघि बढाउन खोजेको सम्झौतालाई रोक्न खोज्दा सँगसँगै जान सक्ने आधार कमजोर बनेको कुरा पनि राखेका थिए ।
तर एमाले नेताहरुले गठबन्धन कामय रहेको अवस्थासम्म अनुमोदनका लागि आफूहरु नचाहिने भएकाले गठबन्धन नरहेको स्पष्ट भएपछि मात्र एमाले आफ्नो ठोस प्रस्तावसहित आउने धारणा राखेका थिए । यसबारे थप कांग्रेससँग शुक्रबार थप छलफल हुने संभावना छ । साँझको बैठकपछि सञ्चारन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद् चाँडै सूचारु गर्ने विषयमा सकारात्कम बनेको बताए । एमालेको माग सम्बोधन गरेर संसद् खुल्ने वातावरण बनाउने कि अन्य कुनै तरिकाबाट जाने भन्नेचाहिँ कार्कीले खुलाएनन् । यसबारे शुक्रबारको बैठकमा थप छलफल हुनेछ ।
माओवादीसँग एमालेको प्रस्ताव
एमालेले माओवादी नेताहरुसँग पनि करिब कांग्रेससँगकै जस्तो प्रस्ताव राखेको छ ।
- नेकपा एसका १४ जना सांसद निष्कासनको सूचना जारी गर्नुपर्ने ।
- सभामुखले राजीनामा दिनुपर्ने ।
- नेकपाकालमा अध्यक्ष ओलीविरुद्ध दाहालले लगाएको १९ पृष्ठ को आरोप फिर्ता लिनुपर्ने ।
एमालेले राखेका यी प्रस्तावमा माओवादीका नेताहरुको ठोस जवाफ नआएको उपाध्यक्ष पौडेलले जानकारी दिए । माओवादीले बिहीबारको बैठकमा एमालेसँग एमसीसीबारे साझा धारणा बनाएर जाउँ भनेका थिए । एमसीसीबारे कम्युनिष्ट पार्टीहरु एउटै धारणा बनाएर जानु राम्रो हुने दाहालको धारणा थियो । तर एमाले अध्यक्ष ओलीले माओवादी नेताहरुलाई नेकपाकालदेखि आफूमाथि लगाएका आरोपका प्रसंग निकालेर त्यसमा समेत माओवादीको धारणा मागे । जसका कारण माओवादीसँगको छलफल हार्दिकतापूर्ण बनेन ।