चर्चित नायक पल शाहविरूद्व गायिकाका बुबाले दिए बलात्कारकाे उजुरी

मूलखबर संवाददाता
काठमाडौं, ११ फागुन

बलात्कारको अभियोगमा नेपालका एक चर्चित नायक बिरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा बुधबार जाहेरी दर्ता भएको छ । तनहुँमा घटना भएकाले तनहुँ प्रहरीमा दर्ता गरिएको हो ।
दाङ जिल्ला घोराही उपमहानगरपालिका वडा नं। २ रामपुर स्थायी घर भई हाल काठमाडौं महानगरपालिका नयाँ बानेश्वर खरीबोट ओम शान्तिचोक बस्ने ३२ वर्षीय पूर्णविक्रम शाह (पल शाह) विरुद्ध जाहेरी दिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।
पीडित परिवारले शाह विरुद्ध करणी गरेकाे अराेपमा जाहेरी दिएका हुन् । पीडित पक्षले पीडितको शारीरिक परीक्षण र घटनाको सार्वजनिक मुचुल्का गरी अनुसन्धान गर्न प्रहरी समक्ष माग गरेको छ । पीडित गायिकाका बाबुले प्रहरी समक्ष जाहेरी दिनु भएको छ । नाबालिका छोरीलाई ललाई फकाइ गरी  करणी गरेकाले निज शाह विरुद्ध कानुनी कारवाही अगाडि बढाउन उजुरी कर्ताको बुबाले माग गरेको जाहेरीमा उल्लेख गर्नु भएको छ ।
२०७८ वैशाख १४ गते राती तनहुँ शुक्लागण्डकी नगरपालिका २ स्थित प्रदीप थापाको घरमा बस्दा छोरी माथि करणी भएको उजुरीकर्ताले जाहेरीमा उल्लेख गर्नुभएको छ । प्रनाउ खड्काले बुधबार अपरान्ह पीडित पक्षले शाह विरुद्ध करणी सम्बन्धी जाहेरी परेपछि आफुहरुले अनुसन्धान सुरु गरेको बताउनुभयो । उजुरी परेपछि नियन्त्रणमा लिन शाहको खोजी भइरहेको प्रनाउ खड्काले बताउनुभयो । यता गायक पल शाहले मङ्गलबार आफ्नो फेसबुक वालमा आफुलाई ती गायिकाले फसाउन लागेको भन्दै स्टाटस लेख्नु भएको छ । यस अघि यस अघि कास्कीमा प्रयास गरिए पनि कार्यक्षेत्र नपर्ने भन्दै त्यहाँको प्रहरीले नमानेपछि तनहुँमा शाहविरुद्ध जाहेरी दर्ता भएको बताइएको छ ।
पोखरा, चितवन, वाग्लुङमा सुटिङ सकेर राती होटलहरुमा बास बस्ने क्रममा पटक पटक करणी गर्न खोजेकोमा छोरीले असहमती जनाएकोले सफल हुन नसकेको जाहेरीमा उल्लेख गरिएको छ ।
छोरीको हेरचाह गरेको वाहाना समेत गरी माया प्रेमको झुटो नाटक गरी करणी गर्ने शाहलाई मुलुकी अपराध संहिता  विपरितको कसुर अपराधमा कडा भन्दा कडा कारबाही गरी सो संहिताको दफा २२८ बमोजिम पिडितलाई क्षतिपूर्ति समेत दिलाइ, भराई पाउँ भनि जाहेरी दिईएको खबर गाेरखापत्रमा छ ।