यस्ता छन् प्रधान न्यायाधीश जबराबिरूद्वका २१ अभियाेग

मूलखबर संवाददाता
काठमाडौं, २ फागुन

प्रधान न्यायाधीश चाेलेन्द्र शमशेर जबरामाथि सत्तारूढ गठबन्धनका सांसदहरूले २१ वटा अभियोग लगाएका छन्।

जबरामाथि लागेका अभियोगहरूमा न्यायालयमा विचलन ल्याएको, भ्रष्टाचार र बिचौलियालाई स्थान दिएको र भागबन्डा खोजेको जस्ता आरोप लागेका छन्।

संसद सचिवालयमा आइतवार दर्ता भएको महाअभियोग पत्रको पहिलो बुँदामा न्यायपालिकाको जगेर्ना गर्न जबरा अक्षम रहेको आरोप लगाइएको छ। उनको कार्यकालमा सर्वोच्च सहितका अदालतहरूमा भ्रष्टाचार र बिचौलियाहरूले प्रवेश पाएको दोस्रो आरोप छ।

उनीमाथि लागेको तेस्रो आरोप हो, संवैधानिक जिम्मेवारीलाई निजी सम्पत्ति सरह ठानेर दुरुपयोग गरेको र न्यायाधीशको कर्तव्य पालनामा अक्षम र विफल भएको। जबरासँग न्यायपालिकाले अपेक्षा गर्ने गुण बाँकी नरहेको भन्दै पदमा राखिरहन न्यायिक मूल्य मर्यादाले उपयुक्त नदेखिएको महाअभियोगको चौथो बुँदामा उल्लेख छ।

जबरासँग पदीय जिम्मेवारी, संवैधानिक आचरण र नैतिकताका साथै कार्यक्षमता समेत नदेखिएको गठबन्धनको आरोप छ। उनलाई न्यायमा विचलन ल्याएको र निहित स्वार्थपूर्तिको लागि पदको दुरुपयोग गरेका आरोप छ।

जबरामाथि संविधानको कार्यान्वयनमा अवरोध गरेको, महिनौँ देखि न्यायाधीशको पदपूर्तिमा अनिच्छुक देखिएको, संविधानको दुरुपयोग गरेको, संसदीय सुनुवाइका क्रममा गरेका प्रतिबद्धता उल्लङ्घन गरेको तथा परिवारका सदस्यलाई नियुक्तिको सिफारिस गरेको आरोप लगाइएको छ।

महाअभियोगको १४औँ बुँदामा उनलाई न्यायपालिकाभित्र गुट उपगुट बनाएको आरोप छ। जबरालाई योग्यता र क्षमता नभएकाहरूलाई न्यायाधीश नियुक्ति दिएको र भ्रष्टाचार गरेर अवैध सम्पत्ति आर्जन गरेको बारे प्रश्न उठेको भन्दै महाअभियोग लगाउनुपर्ने आवश्यकता देखिएको गठबन्धनका सांसदहरूले जिकिर गरेका छन्।

जबरा कोभिड सङ्क्रमणबाट बिरामी हुँदा समेत बिदामा नबसेको र अदालतलाई जानी जानी नेतृत्वविहीन बनाएको आरोप संसदमा दर्ता भएको महअभियोगपत्रमा उल्लेख छ।

महाअभियोगमा उनका सहकर्मी न्यायाधीशहरू सँगै इजलासमा नबस्ने बताइरहँदा उनको नेतृत्वमा सर्वोच्च अदालत सञ्चालन हुन असम्भव रहेको दाबी गरिएको छ।

उनलाई नियम विपरीत न्यायाधीशहरूको काज सरुवा गरेको र बिचौलियाका लागि अदालतलाई सुरक्षित स्थान बनाएको आरोप लगाइएको छ।

महाअभियोगपत्रको २१औँ बुँदामा १०० दिन भन्दा अघिबाट कानुन व्यवसायीहरूले उनको निष्कासन माग गर्दै आन्दोलन गरिरहेको सन्दर्भ उल्लेख गर्दै उनलाई पदमुक्त गर्नुको विकल्प नरहेको जिकिर गरिएको छ।