प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, काे काे भए मन्त्री ?
प्रदेश १ मा मन्त्रीपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले ८ जना मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् ।
खानेपानी, सिँचाइ तथा उर्जामन्त्रीमा माओवादीका उपनेता रामकुमार राई, कृषिमन्त्रीमा माओवादी केन्द्रका प्रमुख सचेतक झलकबहादुर मगरले पद तथा गोपनियताको शपथ लिएका हुन् ।
यस्तै, सामाजिक विकासमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का राजन राई, पर्यटन तथा संस्कृतिमन्त्रीमा एकीकृत समाजवादीका झलनाथ खनाल निकट खिनु लङ्वा लिम्बु र यातायात व्यवस्था तथा सञ्चारमन्त्रीमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका नाता सम्बन्धका उपेन्द्र घिमिरेले शपथ लिएका हुन् ।
कांग्रेसबाट वन, वातावरण तथा भूसंरक्षणमन्त्रीमा शेखरचन्द्र थापा, उद्योग, श्रम तथा रोजगारमन्त्रीमा प्रकाशप्रताप हाङ्गाम र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमा ओमप्रकाश सरावगीले शपथ लिएका छन् ।
कांग्रेसबाट शपथ लिएका तीन जनामध्ये थापा र हाङ्गाम सभापति शेरबहादुर देउवा निकट र सरावगी कांग्रेस नेता कृष्णप्रसाद सिटौला निकट हुन् । मन्त्रिपरिषद् विस्तारमा कांग्रेसका शेखर कोइराला समूहलाई वाइपास गरिएकाले असन्तुष्ट छन् ।