माओवादी महाधिवेशन : समूह नेताहरूले निश्कर्ष सुनाउँँदै, दस्तावेजमा सबैको समर्थन
नेकपा (माओवादी केन्द्र)को काठमाडौंमा जारी आठौँ महाधिवेशनको तेस्रो दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमाथि ११ वटा समूहले आफ्नो धारणा राखेका छन् । कमलादीस्थित नेपाल प्रज्ञा भवनको सभाहलमा चलिरहेको बन्दसत्रमा बुधबार ११ वटा समूहका संयोजकले प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष सुनाउनु भएको हो ।
समुहको छलफलमा अध्यक्ष प्रचण्डले पेश गरेको दस्तावेज विचार, राजनीति, अर्थशास्त्र र संगठनमा नयाँ जिवन दिने सम्भावना बोकेको निष्कर्ष सुनाइएकाे थियाेे ।
दस्तावेजले मानव विज्ञान, प्रकृति विज्ञान देखि आधुनिक विज्ञानसम्मका विषयहरुलाई ऐतिहासिक द्धन्द्धात्मक भौतिकबादको कोणबाट विश्लेषण गरेको छ । अध्यक्ष प्रचण्डले आफ्नै टाउकोमा आगो सल्काउने हिम्मत गर्दै गर्नुभएको आत्मालोचनाले साँच्चीकै नेतृत्वको पहिचान दिएको छ तर केही ढिला भने भइसकेको छ ।
अन्तराष्«िय कम्युनिष्ट आन्दोलन र रिम लगायतका संस्थाहरुको बारेमा विश्लेषण र निश्कर्ष अपुग छ ।
नेपालका राजनीतिक दलहरुलाई हेर्ने विषयमा दस्तावेजमा स्पष्ट दृष्टिकोण आउनुपर्छ ।
आन्तरिक पार्टी संगठनभित्रको एकता, गुटबन्दीका विषयमा स्पष्ट आउनुपर्छ र गुटबन्दी अन्तय गर्ने प्रतिवद्धतासहितको विधि किटान हुनुपर्दछ ।
जनयुद्धमा सहभागि पूर्णकालिन कार्यकर्ता, घाइते अपांगको लगत, व्यवस्थापनका विषयमा दस्तावेजमा कार्यक्रमहरु आउनुपर्छ ।
शहीद परिवार, वेपत्ता परिवारको व्यवस्थापन र पार्टी कमिटिमा अनिवार्य स्थानको व्यवस्था राखीनुपर्दछ ।
राज्यद्धारा वेपत्ता नागरिकको अवस्था अहिले सम्म सार्वजनीक हुन सकेको छैन, उनीहरुको स्थिति अविलम्ब सार्वजनीक गरिनुपर्दछ ।
आदिवासी जनजातीलाई जनयुद्धको मुख्य मेरुदण्डको रुपमा उपयोग गरियो अहिले पार्टीको कमिटिमा अनिवार्य कोटा सुनिश्चित गरिनुपर्दछ ।
दस्तावेजमा किसान र सुकुम्वासीका समस्या र समाधानको विषयमा उल्लेख गरिनुपर्यो ।
विचारको हिसावले माक्र्सवाद लेनिनवाद र माओवादको मात्रै चर्चा गरेर पुग्दैन नेपाली मौलिकतामा हामीले सम्पन्न गरेको जनवादी क्रान्ति र प्राप्त उपलव्धीलाई आधार मानेर विचारको शंस्लेषण् गरिनुपर्दछ ।
नेतृत्व हस्तान्तरण र उत्तराधिकारीको विषयमा दस्तावेजमा स्पष्ट व्यवस्थासहितको नीति आउनुपर्दछ ।
पार्टी प्रवेश उमेर र युवा प्रतिनिधित्वको कुरा गरिरहँदा अवकासको पनि उमेरको स्पष्ट व्यवस्था गरिनुपर्दछ ।
पार्टीका सबै कमिटिमा प्रत्यक्ष निर्वाचनद्धारा नेतृत्व चयन गर्ने व्यवस्था गरिनुपर्दछ ।
उत्पादनको कुरा गर्दा स्पष्ट नीति बनाउने तर माटो सुहाउँदो कार्यन्वयन गर्ने खालको लचिलो व्यवस्था गर्नुपर्दछ ।
जतिसुकै चिार र आदर्शको कुरा गरेपनि नेपालको विकासको वाधक भ्रष्टाचार र अराजकता नै हो तसर्थ शिक्षा स्वास्थ्यलाई पूर्ण निशुल्क बनाउने र पार्टी भित्र र र बाहिर भ्रष्टाचारविरुद्ध निर्मम अभियान चलाउने व्यवस्था गर्नुपर्दछ । सुसासनको विषयमा विशेष खालको अभियान नै सञ्चालन गर्नु जरुरी छ ।
शिक्षाको नीजिकरणको नियमन मात्रै होइन नियन्त्रण र क्रमशः उन्मुलन नै गरिने कुरा दस्तावेजमा उल्ल्ेख गरिनुपर्दछ । जस्ता सुझावहरू समेटिएका छन् ।
११ समूहले निष्कर्ष सुनाएपछि बुधबारको छलफल सकिएको माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार बिहीबार बिहान ११ बजेदेखि पुनः बाँकी समूहले समूहगत छलफलको निष्कर्ष सुनाउनुहुने छ ।
अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र नेता देवप्रसाद गुरुङको विधान मस्यौदा प्रस्तुत गर्नुभएको थियो । उक्त प्रतिवेदनमाथि छलफलका लागि विभिन्न २५ समूह बनाइएको छ ।
बुधबार गिरिराजमणि पोखरेलले बन्दसत्र सञ्चालन सम्बन्धी आचारसंहिता सुनाउनु भएपछि बन्दसत्रको कार्यक्रम अगाडि बढेको थियो । बुधबार समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने क्रममा सल्लाहकार समूहको तर्फबाट रामनारायण बिडारी, प्रदेश २ बाट सत्यनारायण भगत, आयोगको तर्फबाट टंक राई, गण्डकी प्रदेशबाट गायत्री गुरुङ, प्रदेश १ बाट अजम्बर काम्वाङ राई र हर्कबहादुर नेम्बाङ, प्रवास समन्वय समितिबाट मनऋषि धिताल, बागमती प्रदेशबाट सरल सहयात्रीले निष्कर्ष प्रस्तुत गर्नुभयो ।
यता केन्द्रीय विभागबाट गीता पनेरु, सुदूरपश्चिम प्रदेशबाट मिनबहादुर कुँवर र कर्णाली प्रदेशबाट विमला केसीले समूहको निष्कर्ष प्रस्तुत गर्नुभएको हो । महाधिवेशनको पाँचौं दिन बिहीबार बिहान ११ बजेदेखि बन्दसत्र पुनः सञ्चालन हुनेछ । थप १४ समूहले बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्नेछन् ।