खाडी जाने श्रमिकलाई सस्तो टिकट दिन मन्त्रीको निर्देशन, प्रत्येक उडानमा ४० वटा दिइने
नेपाली श्रमीकलाई नेपालमै फिर्ता गरेर रोजगारको ग्यारेन्टी गर्नुपर्ने दबाब बढिरहेका बेला नेपाल वायुसेवा निगमले काठमाडौंबाट कतार, दुबई र मलेसिया श्रम भिसामा जाने नेपालीलाई प्रत्येक उडानमा ४० वटा सस्तोदरको टिकट दिने भएको छ ।
पर्यटन मन्त्रालय सम्हालेको २ महिनापछि मंगलबार पहिलोपटक नेपाल वायुसेवा निगम पुगेका पर्यटनमन्त्री प्रेमबहादुर आलेले श्रम गन्तव्यमा जाने श्रमिकलाई प्रत्येक उडानमा ४० वटा सस्तो टिकट दिन निर्देशन दिएका थिए ।
‘४०–५० डिग्रीमा श्रम रगत, पसिना बगाउन जाने नेपाली कामदारलाई भिसा र पासपोर्ट ल्याई निगममा आएमा सस्तो टिकट दिनु,’ मन्त्री आलेले निगम मुख्यालयमा आयोजित कार्यक्रममा भने, ‘सस्तो दरको टिकट २० हजारमा निगमबाट दुई हप्ताअघि किनेर ४० हजारमा बिक्री गर्ने ट्राभल एजेन्सीलाई चाहिँ नदिनु ।’
निगमको टिकट बिक्री गर्ने वाणिज्य विभागका निर्देशक जनक कालाखेतीका अनुसार, सस्तोमा श्रमिकलाई टिकट दिने कार्य थालनी भइसकेको छ । उनले मन्त्री आलेलाई बताएअनुसार, सबैभन्दा सस्तो टिकट श्रमिकले ३२ हजार रुपैयाँमा पाउने छन् ।
साहु महाजनबाट महँगोमा ऋण लिई वैदेशिक यात्रामा जान बाध्य हुने नेपालीलाई म्यानपावर कम्पनी, एजेन्ट, ट्राभल आदीले ठग्ने चक्रलाई ‘ब्रेक’ लगाउन पर्यटन मन्त्रालयले पछिल्लोपटक खाडी जाने श्रमिकलाई ‘भीभीआईपी’ दर्जा दिई सम्मान सुरु गरेको छ । मन्त्रालयल आफ्नो मातहतको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रमिकका लागि रातो कार्पेटसहितको छुट्टै विश्राम कक्ष स्थापना गरिसकेको छ ।