४ दिनमा ८७ काे ज्यान गयाे, २८ अझै बेपत्ता
बेमौससी वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरोले ८७ जनाको ज्यान गएको छ। २८ जना बेपत्ता छन्। १२ घाइते छन्। ३० वटा घर पूर्ण क्षति भएका छन् भने १ सय बढी चौपाया मरेका छन्। नेपाल प्रहरीका अनुसार ६ सय ६९ घर डुवानमा परेका छन्। ५० घरमा पानी पसेको छ।
पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पहिरो र खोलाले बगाउँदा २१ जनाको ज्यान गएको छ। ३ जना बेपत्ता छन्। इलाममा पहिरोले पुरेर ११ जनाको मृत्यु भएको छ। खोलाको भेलले बगाएर थप एक र रूखले किचेर १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। बाढी र पहिरोबाट ४० जिल्ला बढी प्रभावित छन्।
नेपाल प्रहरी प्रवक्ता बसन्त कुँवरका अनुसार प्रदेश नम्बर १ मा ५३, बागमती प्रदेशमा १, सुदूरपश्चिममा २६ र कर्णालीमा ७ जनाले बाढी र पहिरोमा परी ज्यान गुमाएका छन्।
गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले सुर्खेत, कैलाली र इटहरीलाई केन्द्र बनाएर सेनाको हेलिकप्टरबाट घाइतेको उद्धार भइरहेको बताए।
एकै गाउँपालिकामा २१ को मृत्यु
पहिरो तथा खोलाले बगाउँदा पाँचथरको मिक्लाजुङ गाउँपालिकाका २१ जनाको ज्यान गएको छ। ३ जना बेपत्ता भएको गाउँपालिका अध्यक्ष अमर माखिमले जानकारी दिए। त्यस्तै उदयपुरमा छुट्टाछुट्टै खोलाले बगाउँदा एक सरकारी कर्मचारीसहित २ जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार उदयपुरगढी गाउँपालिका–८ का ५९ वर्षीय कृष्णबहादुर श्रेष्ठ र त्रियुगा नगरपालिका–५ लालपतास्थित बिलाउनेका ४० वर्षीय टुकहादुर खड्काको ज्यान गएको छ।
उनका अनुसार मिक्लाजुङ–५ मा १५ जनाको मृत्यु भएको छ भने २ बेपत्ता छन्। वडा नम्बर १ मा २ र वडा नम्बर २ मा २ जनाको ज्यान गएको छ। वडा नम्बर ४ मा खोलाले बगाएर १ जना बेपत्ता छन्। यस्तै वडा नम्बर ७ मा २ जनाको मृत्यु भएको अध्यक्ष माखिमले जानकारी दिए। यस्तै, फिदिम–४ मा २ जना, फाल्गुनन्द गाउँपालिकामा ३ जना र कुम्मायकमा पहिरोले पुरिएर १ जनाको मृत्यु भएको छ।
इलाममा १३ को मृत्यु
इलाममा पहिरोले पुरेर ११ जनाको मृत्यु भएको छ। खोलाको भेलले बगाएर १ र रूखले किचेर थप १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। २ जना बेपत्ता र ४ जना घाइते भएको प्रहरीले जनाएको छ।
अधिकांश चुरे क्षेत्र ओगटेको माङ्सेबुङ गाउँपालिकामा सबैभन्दा बढी ६ जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता छन्। माङ्सेबुङ गाउँपालिका–६ का ५३ वर्षीय हरिप्रसाद राई, २९ वर्षीया कविता राई, सूर्याेदय नगरपालिका–३ की ४९ वर्षीया नारायणीदेवी मोते, ३८ वर्षीया विष्णुमाया तामाङ र १७ वर्षीय विशाल तामाङको पनि पहिरोमा परी ज्यान गएको छ। माङ्सेबुङ–६ की ८२ वर्षीया रनश्वरी राई र त्यहीँकी ५३ वर्षीया हरिमाया राई पहिरोमा बेपत्ता रहेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार पहिरोमा परी फाकफोकथुम गाउँपालिकामा एकैघरका ४ सहित ६ जनाको मृत्यु भएको छ। फाकफोकथुम–१ की ३० वर्षीया बिना शेर्मा, १४ वर्षीय आइतबहादुर राई, ८६ वर्षीय नैनसिंह कटवाल, ७५ वर्षीया रणजता थापा, १५ वर्षीया निशाना कटवाल र १२ वर्षीय निश्चित कटवालको मृत्यु भएको छ। देउमाई नगरपालिका–२ की सरिता आचार्यको स्थानीय लुटिमाया खोलाले बगाएर र माई नगरपालिका–३ की २५ वर्षीया तेजमाया राईको स्थानीय बेतेनी जंगलमा रूखले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहिरोमा परेर माङसेबुङ–६ चिसापानीका जमन राई र भक्तबहादुर राई, फाकफोकथुम–१ ठिंगेपुरका नरबहादुर सेर्मा र खगेन्द्र सेर्मा घाइते भएको प्रहरीले जनाएको छ।
मानवीय क्षतिसँगै माङ्सेबुङ गाउँपालिकामा रहेका पक्की पुल र बाटो घाटोमा ठूलो क्षति पुगेको गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिंगोले बताए। – अन्नपूर्णबाट