देशैभर वर्षा र बाढीको वितण्डा : धनजनको ठूलो नोक्सानी, ९ को ज्यान गयो, १४ सडक अवरुद्ध
मनसुन सकिएपछि भदौमा आएको भदौरे झरीका कारण देशभरको जनजीवन नराम्ररी प्रभावित बनेको छ । पछिल्ला तीन दिनमा नौ जनाको मृत्यु भएको छ । देशभर करिब चार हजार पाँच सय घर डुबानमा परेको र ९० हजारभन्दा बढी जनसङ्ख्या प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको छ ।
गृहमन्त्री बालकृष्ण खाँणले निरन्तरको वर्षाले सप्तकोसीको बहाव बढेर खतराको बिन्दुमा पुगेको जानकारी आएपछि उदयपुर र सप्तरीका सुरक्षा अधिकारीहरूसँग त्यहाँको अवस्थाबारे जानकारी लिनुभएको छ । मन्त्री खाँणले आइतबार साँझ उदयपुरका प्रमुख जिल्ला अधिकारी तुल्सीराम सेढाईं, नेपाल प्रहरीका उपरीक्षक र सशस्त्र प्रहरीका उपरीक्षक तथा सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यसँग टेलिफोन संवाद गरेर कोसी नदीको कटान र बहावबारे जानकारी लिनुभएको हो । उहाँले नागरिकलाई सुरक्षित स्थानमा अस्थायी बासस्थान बनाएर भए पनि लैजान निर्देशन दिनुभयो ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो तीन दिनमा नौ जनाको मृत्यु, चार जना बेपत्ता र पाँच जना घाइते भएका छन् । बाढीपहिरो र डुबानबाट ४२ घर पूर्ण क्षति हुनुका साथै ७५६ जनालाई सुरक्षित आश्रय स्थलमा सारिएको छ।
गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङका अनुसार देशका विभिन्न भागमा जारी वर्षाले धनजनको ठूलो नोक्सानी पु¥याएको छ । घर भत्किएर काभ्रे, सुर्खेत र पाल्पा गरी आइतबार तीन जनाको मृत्यु भएको छ, अन्य दुई जना घाइते भएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार भदौ १५ गतेसम्म वर्षाको सम्भावना रहेको छ ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशका पहाडी र समथर भूभागका दर्जनभन्दा बढी सडक अवरुद्ध छन् । तराईका विभिन्न जिल्ला डुबानमा परेका छन् । यस पटक तराईको जनजीवन बढी प्रभावित बनेको छ ।
नवलपरासी पूर्व, कैलाली, काभ्रे, सिन्धुपाल्चोक, दार्चुला, बझाङ, सुर्खेत र उदयपुरका विभिन्न स्थानमा पहिरो गएको छ । तराई भएर बग्ने ठूला नदीहरू सप्तकोसी र नारायणीले सतर्कताको तह पार गरेपछि उच्च जोखिम बढाएको छ । रौतहट, सर्लाही, सिरहा, धनुषा, बाँके, कैलाली, दाङ, रुपन्देही, झापालगायतका जिल्लामा डुबानले समस्या पारेको छ ।
यता रुपन्देहीमा पनि बाढीको प्रकोप उच्च छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार बिहीबारदेखि यता बाढी र वर्षे पानीले ९५० घर डुबानमा परेका छन् । विभिन्न स्थानका ३६ वटा घरमा पूर्ण क्षति भएको छ । हालसम्म बाढीले तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन् ।
नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले बाढीपहिरो र डुबानको तीनथरि विपत् कारण स्थानीयवासीले सास्ती खेप्नु परेको बताउनुभयो । उहाँका अनुसार नदीमा बाढी र पहाडमा पहिरोले सुरक्षा जोखिम बढाएको छ । हुप्सेकोटको विभिन्न बस्ती पहिरोले थिलथिलो बनाएको छ । सोही स्थानको तल्लो गाउँमा पहिरोको जोखिम बढेपछि स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ ।
शुक्रबार पहिरोले तीन जनाको ज्यान गएको थियो ।
डेढगाउँमा दुई स्थानमा, बाणथर र रुचाङमा पनि पहिरोको जोखिम बढेपछि स्थानीयवासी विस्थापित भएका छन् । देवचुलीमा बाढीले क्षति पु¥याएको छ । कावासोती–४ मा पनि पहिरोले घर पुर्न थालेपछि स्थानीयवासीलाई अन्यत्र सारिएको छ । डुबानले अस्तव्यस्त सडक शनिबार रातिदेखि खुले पनि आइतबार डाइभर्सनबाटै खोला पसेपछि पुनः सडक अवरुद्ध भएको प्रजिअ पङ्गेनीले बताउनुभयो ।
बाढीपहिरोले १४ वटा सडक अवरुद्ध भएका छन् । सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले अवरुद्ध भएका १४ ठाउँमा सञ्चालनका लागि तीव्र रूपमा प्रयास भइरहेको जानकारी दिनुभयो ।
महानिर्देशक थापाले के कति कारणले अवरुद्ध भएको हो, सोको आधारमा सडक सञ्चालनमा ल्याउने समय लाग्ने गरेको जानकारी दिनुभयो । सामान्य पहिरो गई अवरुद्ध भएका सडक छिट्टै सञ्चालनमा ल्याउने काम भइरहेको छ । सडक विभागले मुलुकभरका लोडर, एस्काभेटर, डोजर, ट्रान्सपोर्ट ट्रक, क्रेन, क्रेनट्रक, ट्रकलगायतका २०५ वटा हेभी इक्विपमेन्टमार्फत राजमार्ग र सडकको अवरोध हटाउने काम गरिरहेको महानिर्देशक थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसका अतिरिक्त इटहरी, जनकपुर, हेटौँडा, काठमाडौँ, पोखरा, बुटवल, नेपालगञ्ज र गोदावरीको हेभी इक्विपमेन्ट डिभिजनहरूमा तयारी अवस्थामा राखिएका छन् ।”
तयारी अवस्थामा राखिएका इक्विपमेन्ट अपुग भएमा सम्बन्धित डिभिजनबाट पठाउने गरी तयारी गरिएको उहाँले बताउनुभयो । विगतभन्दा बढी वर्षा हुने अनुमान गरिएकाले यो वर्ष विशेष तयारी गरिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे–काठमाडौँ खण्डको गल्छीमा, सिद्धार्थ राजमार्गअन्तर्गत बेलहिया–भैरहवा–बुटवल–वर्तुङ–राम्दी–स्याङ्जा–पोखरा खण्डको डुम्रेमा, भिट्टामोड–जलेश्वर–बर्दिबास, खुर्कोट–मन्थली–तामाकोसी–सिँगटी–लामाबगर–लाप्चेगाउँ सडकखण्डको टिल्पुङमा सडक अवरुद्ध भएको हो ।
त्यसैगरी अरनिको राजमार्गअन्तर्गत काठमाडौँं–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी सडकखण्डको डकलाङमा, सिन्धुपाल्चोकको लिपिङमा पहिरोका कारण सडक अवरुद्ध छन् । महानिर्देशक थापाका अनुसार सुर्खेत–दैलेख–महावुलेख–गाल्जे, नाग्मा–गमगढी–नाक्चेलाग्ना सडकअन्तर्गत जुम्लाको बडकी भन्ने ठाउँमा, गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्यफ्रुबेँसी–रसुवागढी सडकअन्तर्गत नुवाकोटको मैथली खोलामा सडक अवरुद्ध भएको हो ।
सोही राजमार्गको रसुवाको त्रिशूली खोला, सानो भार्खु खोला र सानो गाँजाबारी भन्ने ठाउँमा, डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गत अर्खले र रामबजार, मनाङको बगरछाप, धारापानी र तिमाङ खोला, तिमाङ छहरा भन्ने ठाउँमा सडक अवरुद्ध रहेको उहाँले जानकारी दिनुभयो ।-गोरखापत्रबाट