१० बुँदे सहमति लागू नगरेेेेेसम्म बैठकमा जान्नाैं
नेकपा एमालेबाट विद्राेह गरी (समाजवादी) पार्टी गठन गरेका वरिष्ठ नेता माधव नेपाललाई साथ नदिएका नेताहरूले १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न केपी अाेली र माधव नेपालसँग माग गरेका छन्। माधव नेपाल पक्षमा रहेका स्थायी समिति सदस्यहरुबीच बिहीबार भएको छलफलमा नेताहरूले सहमतिको अक्षरशः कार्यान्वयनमा जोड दिएका हुन्।
उनीहरूले एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल दुवैले आफ्ना निर्णयलाई सच्याउनुपर्ने निष्कर्ष निकालेका छन्। माधव नेपालसहित १४ सांसदलाई गरेको कारबाही ओलीले फिर्ता लिनुपर्ने र नयाँ पार्टी गठनको प्रक्रियाबाट माधव नेपाल पछि हट्नुपर्ने निष्कर्ष निकालेको एमाले सचिव गोकर्ण विष्टले बताए।
साथै, १० बुँदे अक्षरशः कार्यान्वयन नहुँदासम्म पार्टीका कुनै पनि बैठकमा नजाने सहमति भएको एक नेताले जानकारी दिए। सहमतिको अक्षरशः कार्यान्वयन भएर सबै एडजस्टमेन्ट हुँदा अर्को पार्टी बनाउनुको औचित्य नहुने भन्दै एकतामा आउन माधवकुमार नेपाललाई समेत अपिल गरेको ती नेताले बताए।
नेताहरूले संयुक्त वक्तव्य नै जारी गर्ने तयारी गरेको बताइएको छ। बैठकमा एमाले उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल,सचिवहरु गोकर्ण विष्ट, योगेश भट्टराई भीम रावल, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृत बोहोरा सहभागी थिए।