जलविद्युतकाे शेयरमा अस्वभाविक चलखेल !
वित्तीय तथा प्राविधिक अवस्था कमजोर भएका जलविद्युत् कम्पनीका शेयर मूल्य निरन्तर बढेपछि सर्वसाधारण लगानीकर्तामा संशय पैदा भएको छ । पछिल्लो समय शेयर बजारमा जलविद्युत् कम्पनीका शेयर कारोबारमा अस्वाभाविक चलखेल भएको भन्ने आशङ्का सर्वसाधारण लगानीकर्तामा परेको छ ।
नेपाल स्टक एक्चेञ्जमा हालसम्म जलविद्युत् क्षेत्रका ४० कम्पनीका ८३ लाख ६७ हजार ४७९ शेयरको कारोबार हुँदै आएको छ । गत बिहीबारको कारोबार हेर्ने हो भने कुल कारोबार रकमको ३१ प्रतिशत हिस्सा यस क्षेत्रको छ । त्यस दिन रू. १७ अर्ब ५० करोडको कुल कारोबार भएको थियो । त्यसमध्ये जलविद्युत् क्षेत्रको रु. पाँच अर्ब ५० करोड बराबरको शेयर कारोबार भएको थियो । बिहीबार सबैभन्दा बढी न्यादी हाइड्रोको शेयर रु. एक हजार ३४४ मा कारोबार भयो भने सबैभन्दा कम खानीखोलाको रु. ३८० मूल्यमा कारोबार भएको थियो ।
जलविद्युत् कम्पनीको शेयरमा अस्वाभाविक चलखेल भएको साधारण लगानीकर्ताले गुनासो गर्दै आएका छन् । ऋण तिर्न नसक्ने, प्रतिशेयर आम्दानी कम तथा खुद मूल्य कमजोर भएका कम्पनीको शेयरमा उछाल आएको तर त्यसप्रति नियमन निकायले कुनै चासो नदेखाएको भन्दै मन्त्रालयमा सर्वसाधारणको गुनासो आउने गरेको छ । पछिल्लो दुई सातादेखि दैनिकजसो मन्त्रालयमा गुनासो आउने गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
हुन पनि बजारको कारोबार र शेयर मूल्यको अवस्था हेर्ने हो भने चिलिमे, बुटवल हाइड्रोपावरलगायत कम्पनीको शेयर त्यस्तो आकर्षक देखिएको छैन तर अन्य कम्पनीको मूल्यमा अस्वाभाविकरूपमा बढेको देखिएको छ । पछिल्लो समय डेभलपरको विश्वसनीयता, पानीको बहाव (हाइड्रोलोजी), भौगर्भिक अवस्थाको आधार मानेर भन्दा पनि हल्लाको भरमा शेयर कारोबार भएको जानकार बताउँछन् ।
प्रसारण संरचना, वार्षिक ऊर्जा उत्पादन, तीन वर्षसम्मको खर्च तथा आम्दानी, आयोजनाले प्रभावित क्षेत्रका जनतालाई कतिको विश्वस्त पारेको छ, नियमित साधारणसभा गरेको छ कि छैन भन्नेजस्ता साधारण सूचकको मूल्याङ्कनबिनै शेयरमा हुने चलखेलका विषयमा नियमन निकायले बेवास्ता गरेको सर्वसाधारणको गुनासो छ ।- रासस