सकियाे माओवादी केन्द्रकाे बैठक: जिल्ला समिति खारेज, ६ बुँदे समसामयिक प्रस्ताव पारित

मूलखबर संवाददाता
काठमाडौं

नेकपा माओवादी केन्द्रको राजधानीमा जारी केन्द्रीय कमिटी बैठक आइतबार सकिएको छ। शनिबारदेखि सुरु भएको बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेका राजनीतिक प्रतिवेदन, विधान संशोधन र समसामयिक प्रस्ताव पास गर्दै सकिएको हो।

बैठकपछि माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा गठित समूहगत सुझावलाई पनि स्वीकारेर विभिन्न प्रस्ताव पास गरिएको बताएका छन्। ‘पार्टीलाई रुपान्तरण गरेर गुणात्मक फड्को मार्ने प्रस्ताव गरिएको छ’, उनले भने, ‘समाजवादी कार्यनीतिका रुपमा अघि बढाइने छ। ૪ महिना सुदृढीकरणको अभियान चलाइने छ।’ त्यसैगरी पुसकाे ११-१३ राष्ट्रिय सम्मेलन गर्ने निर्णय पनि भएको छ ।

यस्ता छन् माओवादीका समसामयिक प्रस्तावः 

१. महाकाली नदीमा तुइन काटेर नेपाली युवाको मृत्यु भएको दुई हप्ता भयो। यसबारे भारतसँग वार्ता गर्न र क्षतिपूर्तिका लागि सहल गर्न सरकारसँग माग गर्ने।

२. बेलायतमा गोर्खा सैनिकहरुले गरिरहेको आमरण अनसनमा ऐक्यबद्धता जनाउने। बेलायत सरकारसँग तत्काल वार्ताको पहल गर्न सरकारसँग माग गर्ने।

३. कोरोनाको तेस्रो लहरको खतरा देखिएको हुनाले त्यसको रोकथामको तयारी गर्न, जनतालाई खोपको प्रवन्ध गर्न र समग्र अर्थतन्त्रको पुनरुत्थानको माग सरकारसँग गर्ने।

४.सम्पूर्ण पार्टी पंक्तिलाई स्वास्थ्य मापदण्ड अपनाउँदै महामारीविरुद्ध जुध्न र देशका लागि योगदान गर्न आह्वान गर्ने।

५. बाढी, पहिरोबाट पीडितहरूको राहत उद्धार र पुनर्निर्माणमा सरकारको ध्यानाकर्षण गर्ने।

६ अफगानिस्तानमा रहेका नेपालीहरुको अवस्थाबारे जानकारी गराउन सरकारसँग माग गर्ने।