१० दिनमै तालिवानले कब्जा गर्याे अफगानिस्तान, राष्ट्रपतिसहित भागेपछि कब्जा भयाे देश

मूलखबर संवाददाता
काठमाडौं

अफगान सरकारविरुद्ध युद्धमा होमिएको यो तालिवानले अन्तत : १० दिनमा १९ प्रमुख शहरसहित राजधानी कब्जा गरेको छ। तालिवानले विशेषगरी  मे महिनादेखि मुलुकभर शृंखलाबद्ध आक्रमण सुरु गरेको थियो। तालिवानले गत १० दिनमा अफगानिस्तानका ३४ मध्ये २८ वटा प्रान्त कब्जा गरेको छ।

अाइतबार दिउँसो राष्ट्रपति घानीले सहयोगीसहित देश छाडेपछि तालिवानी विद्राेहीले साँझसम्म राष्ट्रपति भवन कब्जामा लिएका छन् ।

शनिबार तालिवानले एकपछि अर्को गर्दै कन्दाहार, हेरात, जलालवादलगायतका मुख्य सहरहरू कब्जा गरिसकेको थियाे । त्यतिबेलासम्म  तालिवानले कब्जा गर्न बाँकी मुख्य सहर भनेको राजधानी काबुल मात्रै हो। तालिवानले तीव्र गतिमा अफगानिस्तान कब्जा गर्नै लाग्दा पनि हालसम्म अफगानिस्तानका राष्ट्रपति असरफ घानीने राजीनामा भने दिएका छैनन्। तालिवानले आइतबार बिहान जलालवाद कब्जा गरेसँगै राजधानी काबुललाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। उसले चारैतिरबाट काबुललाई घेरिसकेको सञ्चारमाध्यमले बताइरहेका छन्।

के हो तालिवान ?

सन् १८८९ मा अफगानिस्तानबाट सोभियत संघको सेना  फिर्ता भएपछि तालिवान शक्तिशाली हुँदै गएको देखिन्छ। भ्रष्टाचार नियन्त्रण, सुरक्षाको प्रत्याभूतिलगायतका नारा लिएर अफगानिस्तानको दक्षिण पूर्वी भाग अर्थात् पाकिस्तानको सीमा क्षेत्रबाट तालिवानको उदय भएको थियो। सन् १९९८ सम्म आइपुग्दा अफगानिस्तानको ९० प्रतिशत भूभाग तालिवानको नियन्त्रणमा पुग्यो।

उनीहरूको सत्ता स्थापित भएपछि सरिया वा इस्लामिक कानुनको छुट्टै कट्टरपन्थी संस्करण लागू गरे र क्रूर दमन सुरु गरे। पुरुषहरूले अनिवार्य रूपमा दाह्री पाल्नुपर्ने र महिलाले अनिवार्य रूपमा बुर्का लगाउनुपर्ने नियम सुरु भयो। यसैबीचमा सन् २००१ सेप्टेम्बर ११ मा अल कायदाले अमेरिकाको पेन्टागनमा आक्रमण गर्‍यो। घटनाको मुख्य योजनाकार थिए, ओसामा बिन लादेन।

अमेरिकाले घटनाबारे अनुसन्धान गर्दै जाँदा ओसामा बिन लादेन तालिवानको संरक्षणमा अफगानिस्तानमा रहेको तथ्य पत्ता लाग्यो। लादेनलाई विनासर्त आफूलाई बुझाउन अमेरिकाले तालिवानसँग आग्रह गर्‍यो। तर, तालिवानले आफ्नो आग्रहलाई अस्वीकार गरेपछि अमेरिकाले सैन्य कारबाहीबाट तालिवानलाई सत्ताच्युत गरिदियो। त्यसयता लगातार २० वर्षदेखि अमेरिकी सेना अफगानिस्तानमा रहँदै आएको थियो।

गत अप्रिलमा अमेरिकी राष्ट्रपति जो बाइडेनले सेप्टेम्बर ११, २०२१ सम्म सबै अमेरिकी सेना फिर्ता बोलाउने निर्णय गरे। अमेरिकाको यो निर्णयसँगै पछिल्लो समय तालिवानले शृंखलाबद्ध रूपमा आक्रमण गर्दै आइरहेको छ।