टोकीयो ओलम्पीकमा नेपालका पाँच खेलाडीको सहभागिता, ल्याउला त पदक ?

मूलखबर संवाददाता
काठमाडौं, ८ साउन ।

टोकियो ओलम्पिकमा नेपालको पनि सहभागिता रहेको छ । यसपटक पाँच खेलाडीले ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नेछन् । नेपालका लागि पौडीकी गौरिका सिंह र अलेक्जान्डर शाह, एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार तथा जुडोकी सुनिया भट्टले टोकियोमा खेल्नुहुनेछ । मार्चपासमा नेपालको झण्डा पौडीकी कीर्तिमानी खेलाडी गौरिका र अलेकजेन्डरले बोक्नुभयो ।

ओलम्पिकमा नेपाल अहिलेसम्म पदकको नजिक पुग्न सकेको छैन । यद्यपि ओलम्पिकमा नेपालका केही उल्लेखलायक क्षण छन् । नेपालले प्रथम पटक सन् १९६४ मा जापानको राजधानी टोकियोमा नै आयोजना गरिएको १८औँ ओलम्पिकमा सहभागिता जनाएको हो । सो ऐतिहासिक सहभागितामा नेपालका भुपेन्द्रबहादुर केसी र गङ्गाबहादुर थापाले ९म्याराथन०, नामसिंह थापा, ओमप्रसाद पुन, रामप्रसाद गुरुङ र भीमबहादुर थापा ९बक्सिङ० मा प्रतिस्पर्धा गर्नुभएको थियो । आधिकारिक रूपमा टोकियो ओलम्पिक नेपालको पहिलो ओलम्पिक भए पनि नेपालले सन् १९५२ मा फिनल्यान्डको राजधानी हेलसिन्कीमा आयोजना गरिएको १५औँ ओलम्पिकमा पर्यवेक्षकको रूपमा भाग लिइसकेको थियो । सन् १९६८ मा मेक्सिकोको राजधानी मेक्सिको सिटीमा सम्पन्न १९औँ ओलम्पिकमा नेपालले भाग लिएन । त्यसपछि नेपालले लगातार ओलम्पिकमा सहभागिता जनाएको छ ।
सन् १९८८ मा दक्षिण कोरियाको सोल ओलम्पिकमा नेपाल खेलकुदमा विशेष रह्यो । सोल ओलम्पिकमा समावेश गरिएको तेक्वान्दोमा नेपालका विधान लामाले कास्य पदक जित्नुभयो । उहाँकै खेलले ओलम्पिकमा राष्ट्रिय गानसहित नेपालको ध्वजा फहरिए । तर आधिकारिक खेल नभएका कारण विधानको सफलताले नेपाललाई पदक तालिकामा उपस्थित गराउन सकेन ।
सन् २००४ को एथेन्स ओलम्पिकमा नेपालकी तेक्वान्दो खेलाडी सङ्गिना वैद्य छनोट चरण पार गरेर ओलम्पिकमा खेल्ने नेपालकी पहिलो खेलाडी बन्नुभयो । सन् २००८ मा तेक्वान्दोकै दीपक विष्ट पनि छनोट चरण जितेरै बेइजिङ ओलम्पिकमा पुग्नुभएको हो ।गोरखापत्रबाट