पुनस्थापित संसदको पहिलो बैठक आज : प्रम देउवाले आजै विश्वासको मत लिने
काठमाडौं, ३ साउन ।
प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । सर्वोच्च अदालतको आदेशबाट पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज बस्न लागेको हो । आठौं अधिवेशनको पहिलो बैठक अपराह्न चार बजे बस्ने संसद सचिवालयले जनाएको छ ।
आज संसद बैठक सुचारु हुने भएपछि प्रधानमन्त्री शेर बहादुर देउवाले पनि विश्वासको मतको परिक्षण आजै गर्ने तयारी गरेका छन् ।
देउवाले विश्वासको मत लिनेबारेको प्रस्ताव संसद सचिवालयमा दर्ता भइसकेको जानकारी प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले दिएका छन् ।
संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले एक महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ।
सर्वोच्च अदालतको परामदेशपछि नेपाली कांग्रेसका सभापति देउवा असार २९ गते प्रधानमन्त्री बनेका थिए। नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरूको समर्थनमा प्रधानमन्त्री बनेका देउवाले पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठकमै विश्वासको मत लिने तयारी गरेका हुन्।
यसअघि गत वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत पाएका थिएनन्। करीब साढे तीन वर्ष सत्तामा रहेको नेकपा एमाले यस पटक प्रमुख प्रतिपक्षीको हैसियतमा देखिने छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभालाई पुनर्स्थापित गर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २८ गते परमादेश जारी गरेको थियो ।
संघीय संसद सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीअनुसार आइतबार अघिल्लो सरकारले ल्याएका केही विधेयकहरुलाई प्रक्रियामा लगिने छ । ओली नेतृत्वको सरकारले १६ वटा अध्यादेश जारी गरेको थियो । तीमध्ये बजेटसँग सम्बन्धित अध्यादेश पनि छन् ।
अर्थमन्त्री जनार्दन शर्मा ९प्रभाकर०ले अध्यादेशबाट ल्याइएको बजेट संसदमा पेश गर्ने जानकारी यसअघि नै बताइसकेका छन् । यद्यपि आइतबारको पहिलो बैठकको कार्यसूची भने बिहान १० बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले टुंगो लगाउने छ ।