मेरो कुनै व्यक्तिगत स्वार्थ छैन, जनता र राष्ट्रकाे पक्षमा काम गर्छु : उर्जामन्त्री भुषाल

मूलखबर संवाददाता
काठमाडौं

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले  अाफ्नाे कुनै व्यक्तिगत स्वार्थ नभएको र राष्ट्र र जनताकाे पक्षमा काम गर्ने बताएकी छिन् । मन्त्रीकाे रूपमा पदभार ग्रहण गर्दै उनले साे धारणाा ब्यक्त गरेकी हुन् । मंगलबार प्रधानमन्त्रीमा शेर बहादुर देउवा नियुक्त भएसँगै ऊर्जामन्त्री नियुक्त भएकी भुसालले सिंहदरबार पुगेर आज पदभार ग्रहण गरेकी हुन् ।

माओवादी केन्द्रकी स्थायी समिति सदस्यसमेत रहेकी भुसालले पदबहालीका क्रममा देश र जनताको सपना आत्मसाथ गर्दै पूरा गर्ने भनेकी छन् । उनले भनिन्, ‘देश र जनताको सपना पूरा गर्न आत्मसाथ गरौँ, राम्रो परिणाम निकाल्न सबै लागौँ ।’

आफू जनयुद्धको पृष्ठभूमिबाट यहाँसम्म आइपुगेको बताउँदै उनले भनिन्, ‘जनताको छोरी हुँ, जनयुद्धबाट यहाँसम्म आएको हुँ, काम गर्न सरल छ, मिलेर काम गरौँ ।’ साथै, उनले जनताको काम गर्न आफूसँग कुनै स्वार्थ नरहेको बताइन् । उनले भनिन्, ‘जनताको काम गरौँ, मसँग व्यक्तिगत कुनै स्वार्थ छैन । मेरो एउटै स्वार्थ परिणाम निकाल्ने गरि काम गर्ने मात्र हो ।’

पदबहाली ग्रहण गरेपछि मन्त्री भुसालले अघि भनिन्, ‘काममा कुनै पूर्वाग्रह राख्दिनँ, तर परिणाममुखी काम निकाल्नुपर्छ । हामीले जहिल्यै लक्ष्य राख्ने तर लक्ष्य पूरा नगर्ने हुँदै आएको छ । १÷२ वटा मात्र लक्ष्य पूरा हुने गरेका छन् । यो सुधार हुनुपर्छ ।’

साथै, उनले लोडसेडिङ कहिल्यै नहुनेमा जोड दिनसमेत आग्रह गरेकी छन् । उनले भनिन्, ‘अहिले लोडसेडिङ समस्या जल्दोबल्दो छ । लोडसेडिङ कहिल्यै नहुनेमा जोड दिऔँ । बिजुली बत्ती बाल्नै नपाउनेहरु छन्, उनीहरुसँग बिजुलीको पहुँच चाँडो पुर्याउनुपर्छ ।’

कृषि प्रधान देश भएपनि सिंचाइको समस्या भएको भन्दै मन्त्री भुसालले भनिन्, ‘कृषि प्रधान देश भनिए पनि सिँचाइको समस्या ठूलो छ । सबै कृषियोग्य ठाउँमा १२ महिना नै सिंचाई पुर्याउनमा लाग्नुपर्छ ।’

मन्त्री भुसालले अन्तिममा भनिन्, ‘अहिले बाढी र भूक्षय बढेको छ । हामीले हाम्रो जिम्मेवारी पूरा गरेर विभिन्न निकायसँग समन्वय गरेर यसको रोकथाम तथा नियन्त्रणमा सक्दो कदम चाल्नुपर्छ ।’