प्रदेशस्तरिय नमुना संसदीय अभ्यास सातै प्रदेशमा शुरु, तीनदिन हुने
सातवटै प्रदेशमा ‘नमुना युवा संसद’ मा छनौट गरिएका मुख्यमन्त्री, मन्त्री, सभामुखहरुको संसदीय अभ्यास शुरु गरिएको छ ।
राष्ट्रिय युवा परिषद्को युवा संसद कार्यक्रमबाट छनौट गरिएका उनीहरुले शुक्रबारदेखि तीनदिनसम्म संसदीय अभ्यास गर्न थालेको हुन् ।
भर्चुअल माध्यमबाट १६ देखि २४ बर्ष उमेर समूहका २८४ जना युवामध्येबाट छनौट गरी मुख्यमन्त्री, मन्त्री, प्रदेश सभामुख, उपसभामुख, सचेतकको भूमिकामा चयन गरिएको हो ।
परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले संसदीय अभ्यासबारे प्रशिक्षण दिएका युवालाई प्रदेशसभा रहेका मुख्यमन्त्री, मन्त्री, प्रदेश सभामुख, उपसभामुख र सचेतकको भूमिका अभ्यास गर्न थालिएको जानकारी दिनुभयो ।
उहाँले युवालाई संविधान, लोकतान्त्रिक व्यवस्था, संसदीय व्यवस्थाबारे जानकारी दिनका लागि हरेक बर्ष नमुना युवा संसद कार्यक्रम गर्न थालिएको जानकारी दिनुभयो ।
वागमती प्रदेशको मुख्यमन्त्रीको भूमिकामा रहनु भएका अस्मि सापकोटाले आफूले संसदीय व्यवस्थामा हुने सवै क्रियाकलाप सिकेर अहिले अभ्यास गरिरहेको बताउनुभयो ।
उहाँले नमुना युवा संसदमा आफूलाई सक्षम नेतृत्वको विकास गर्न सकिने धारणा राख्नुभयो ।
मुख्यमन्त्रीको भूमिकामा प्रदेश नं. १ बाट नविन पहाडी, प्रदेश नं. २ बाट पुजाकुमारी साह, वागमति प्रदेशबाट अस्मि सापकोटा, गण्डकी प्रदेशबाट संन्दीप गिरी, लुम्बिनी प्रदेशबाट सुरज भट्टराई, कर्णाली प्रदेशबाट प्रशान्त लामिछाने र सुदूरपश्चिम प्रदेशबाट सुरेन्द्र गिरी चयन भएका छन ।
यस्तै असार २८ देखि ३० गतेसम्म सङ्घीय युवा संसदको अभ्यास हुदैछ ।
ति युवालाई मुलुकको शासकिय प्रणाली, संसदीय क्रियाकलापदेखि राज्य सञ्चालनका सवै कुराको अभ्यास गराइन्छ । नमुना युवा संसदमार्फत युवालाई प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभा र नगर सभा सञ्चालनको अभ्यास गराइन्छ ।
युवालाई एक जना जनप्रतिनिधि सांसद पदका निर्वाचित भइसकेपछि संसदीय व्यवस्थामा रही गरिने क्रियाकलापबारे जानकारी गराइन्छ । अभ्यासमा संसदमा प्रवेश गर्नेदेखि प्रधानमन्त्री, सभामुख, उपसभामुख, संसदीय दलका नेता, विपक्षी दलका नेता, प्रमुख सचेतक, मुख्य सचेतक चयन तथा काम कर्तत्व र अधिकारका कुरा सिकाउनुको साथै अभ्यास पनि गराइन्छ ।
यस्तै संसद सुचारु भइसकेपछि कसरी वोल्ने, शुन्य समय, विशेष समयमा कसरी वोल्ने भन्ने कुरा पनि उक्त नमूना युवा संसदमा सिकाइन्छ ।
परिषद्ले ‘युवा सञ्चालन कार्यविधि २०७५’ जारी गरेर हरेक बर्ष युवालाई संसदीय क्रियाकलाप गराउन थालेको हो । अहिलेसम्म दुई पटक संसदीय अभ्यास गराएको परिषद् गतबर्ष कोरोना भाइरसका कारणले स्थगित गरेको थियो ।
परिषद्का कार्यकारी उपाध्यक्ष ढुङ्गेलले मुलुक सञ्चालनको बागडोर नै युवा भएकोले अहिलेदेखि नै युवालाई संसदीय अभ्यासबारे जानकारी गराइरहेको बताउनुभयो ।
“नयाँ पुस्ताको नेतृत्व विकासका लागि देश, समाज चिन्नुदेखि संसदीय प्रणालीमा भएका व्यवस्था, परम्परा र तिनको अभ्यासबारे हामीले सिकाउँदछौ” उहाँले भन्नुभयो, “अभ्यासबाट युवा जुनसुकै क्षेत्रमा सक्षम नेतृत्व गर्न सक्दछन ।”
उहाँले नमुना युवा संसदमा सहभागी युवा राजनीतिक नै नगर्न भएपनि सिकेका कुराले सङ्घसंस्था, क्लव, उपभोक्ता समितिमा रहेर कुशल नेतृत्व गर्न सक्ने बताउनुभयो ।
अभ्यासका क्रममा युवाको अधिकार र कर्तत्वबारे पनि बोध गराइने उहाँको भनाई रहेको छ ।
कार्यकारी उपाध्यक्ष ढुङ्गेलले युवा संसदमा सहभागी युवा अहिले स्वयसेवी, सकारात्मक सोच, मुलुकको राष्ट्रिय तथा अन्तराष्ट्रिय राजनीतिबारे जानकार रहेको बताउनुभयो ।
युवा वर्गको नेतृत्व तथता क्षमता विकास गरी देशको शासन सञ्चालन प्रणाली र यसको विकास प्रक्रियामा बारेमा युवालाई सूसुचित गर्ने, युवालाई राज्यका हरेक निकायमा प्रतिनिधित्व गराउने, र युवाको मुद्दाको वहस पैरवी केन्द्रको रुपमा विकास गर्न नमुना युवा संसद तथा संसदीय अभ्यासको थालनि गरिएको हो ।
कार्यविधि अनुसार परिषद्ले नै स्थानीय तह, प्रदेश तह र सङ्घीय तहमा नमूना युवा संसद निर्माण गरि अभ्यास गर्ने छन् ।
परिषद् स्थानीय तहमा युवा संसद अभ्यास सकेर अहिले प्रदेश तहका युवालाई अभ्यास गराइरहेको छ । स्थानीय तहमा स्थानीय सरकारमा हुने प्रमुख, उपप्रमुख र कार्यपालिका सदस्यको काम कर्तत्य, नगरसभा सञ्चालन तथा विभिन्न उपसमिति गर्ने गर्ने कामबारे अभ्यास गराइने छ ।
यस्तै प्रदेश तहमा प्रदेश प्रमुख, प्रदेश सभामुख, प्रदेश उपसभामुख, मुख्यमन्त्री, मन्त्री, संसदीय दलका नेता, विपक्षी दलका नेता, सचेतक लगायतका अभ्यास युवाहरुले गर्ने छन ।
२०७५ सालमा भएको युवा संसदमा प्रधानमन्त्रीको भूमिका रहनु भएका अशोक खनालले अभ्यासले युवा नेतृत्वका विकासमा सहयोग पु¥याउने बताउनुभयो ।
उहाँले जनप्रतिनिधि भइसकेपछि राज्य सञ्चालनमा निभाउनुपर्ने भूमिकाबारे युवा संसदमा सिकिने बताउनुभयो ।
“एउटा जनप्रतिनिधि बनिसकेपछि राज्य सञ्चालन, कानून ज्ञान र नीतिगत निर्माणमा कसरी सहभागी हुने बन्ने कुरा सिकिन्छ, ” उहाँले भन्नुभयो,“ युवाले समस्या पहिचानदेखि समाधान गर्न सक्ने बातावरण निर्माण गर्न सक्दछन् ।”