एमाले एकता प्रयास : शुन्य प्रगति ! `अाेली पक्ष इमानदार देखिएन´
सत्तारूढ दल नेकपा एमाले विवाद समाधानकाे लागि गरिएको प्रयास सार्थक हुन सकेको छैन ।
नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक कुनै प्रगतिविनै सकिएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बिहीबार दोस्रो पटक बसेको बैठकले पनि कुनै निष्कर्ष निकाल्न नसकेपछि प्रगति शून्य भएको हो ।
यद्यपि एमाले नेता सुवास नेम्वाङले भोलि बस्ने बैठकले निश्कर्ष निकाल्ने बताए । `शुक्रबार साढे ११ बजे बस्ने बैठकले टुंगोमा पुर्याउने छ । हामी आशावादी छौ’ नेम्वाङको भनाई छ ।
तर, नेता घनश्याम भुसालले १० दिनअघि एमाले विवाद जुन अवस्थामा थियो त्यो भन्दा बढि थप कुनै प्रगति नभएको बताए । ‘हामी जहाँको त्यहीँ छौं । आजको बैठकमा एक ढंगले कुरा गर्ने तयारी थियो । तर, विष्णु पौडेल आउनुभएन । अनि विषयमा प्रवेश गर्न पाइएन’ भुसालको भनाइ छ ।
माधव नेपाल पक्षका नेताहरुले ओली पक्षका नेताहरु वार्ताका लागि इमानदार नदेखिएको आरोप लगाएका छन् । कार्यदलको बैठकपछि एक नेताले रातोपाटीसँग भने- ‘उहाँहरुमा पार्टी एकताप्रति कुनै रुची देखिएन, यसो उसो गरेर सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्न र पाँच दलीय गठबन्धनमा अविश्वास सिर्जना गर्न खोजेजस्तो मात्रै देखियो ।’