निषेधाज्ञा जेठ ३१ सम्म फेरि थपियाे, केही लचिलाे, के खुल्ने ?

मूलखबर संवाददाता
काठमाडौं

विश्वव्यापी महामारीको रूपमा फैलिएको काेराेना भाइरस काेभिडकाे संक्रमण राेकथाम गर्न भनी बैसाख १६ देखि काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा केही खुकुलाे हुनेगरी जेठ ३१ सम्म थप गरिएको छ ।

उपत्यकामा जारी निषेधाज्ञा १० दिन थप गरिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रेमप्रसाद भट्टराईले खाद्यान्न तथा किराना पसल खोल्न दिनेजस्ता केही प्रावधान खुकुलो पारेर निषेधाज्ञा जेठ ३१ गतेसम्म थप गरिएको बताए ।

ललितपुरका सीडीओ ढुण्डिप्रसाद निरौलाले पनि खाद्य र किराना पसल खोल्न र निर्माणका सामाग्री ढुवानी गर्न दिइने बताए । ‘यो एक हप्ता कडारुपमा गरिएको निषेधाज्ञाले संक्रमण रोक्न मद्दत गर्‍यो । अब खाद्य सामाग्रीका पसलहरु बिहान खोल्न दिने गरी १० दिन थप गरिएको छ,’ निरौलाले  भने ।

काठमाडौंका सीडीओले जारी गरेको निषेधाज्ञासम्बन्धी आदेशमा खाद्यान्न, किराना, तरकारी तथा फलफूल पसल, दुध डेरी, मासु पसल, ग्याँस पसल बिहान ९ बजेसम्म खोल्न पाइने उल्लेख छ । यस्तै निर्माण सामाग्री ढुवानीका सवारी साधान राती ९ बजेदेखि बिहान ४ सम्म चलाउन पाइने पनि आदेशमा उल्लेख गरिएको छ । यस्तै, सवारी साधन मर्मत गर्ने वर्कशपहरु राती ९ बजेदेखि बिहान ९ बजेसम्म खोल्न पाइनेछ ।

शैक्षिक संस्था, सार्वजनिक निजी सवारी तथा भोज, सभा समारोहजस्ता धेरै मानिस जम्मा हुने स्थललाई बन्द गर्ने निर्णय यथावत राखिएको छ । घरमै वा बसेको स्थानमा ७ जनासम्म जम्मा भई विवाह ब्रतबन्ध गर्न पाइने छ । सरकारले तोकेका मापदण्ड पालना गरि कृषिको काम गर्न भने छुट दिइएको छ । अत्यावश्यकबाहेक सरकारी कार्यालय, सार्वजनिक संस्थान र बीमा कार्यालयहरु बन्द रहने छन् । वाणिज्य बैंकहरुले भने प्रधान कार्यालयबाहेक काठमाडौंमा तीनवटा शाखा कार्यालयमात्र खोल्न पाउनेछन् ।

संचारकर्मीलाई सूचना विभागको पास वा जिल्ला प्रशासनबाट जारी गरिएको पासका आधारमा आवतजावत गर्न दिइने आदेशमा उल्लेख गरिएको छ । औषधि तथा खाद्यान्नजस्ता अत्यावश्यक वस्तु र सेवा खरिदमा बाहेक जेठ ३१ सम्म कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाइने पनि आदेशमा उल्लेख गरिएको छ ।