कांग्रेस सभापति देउवाको नेतृत्वमा सरकार बनाउन जुट्यो बहुमत, पुगे राष्ट्रपति भवन

मूलखबर संवाददाता
काठमाडौं, ७ जेठ ।

अन्ततः नया प्रधानमन्त्रीको रुपमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको पक्षमा बहुमत जुटेको छ ।
राष्ट्रपति विद्या भण्डारीले २१ घण्टे अल्टिमेटम राखेर संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार बनाउन दिएको समय सिमाभित्रै देउवाको नेतृत्वमा नयाँ सरकार बनाउन सहमति जुटाउन प्रतिपक्षी दलहरु सफल भएका हुन् ।

गंगा दाहालको फेसबुकबाट

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्नलाई बहुमत सांसदको हस्ताक्षर लिएर विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपति कार्यालय पुगेका छन् ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा संयुक्त बैठकपछि नेताहरु शीतल निवासतर्फ लागेका हुन् । बैठकको सहमतिअनुसार कांग्रेस सभापति देउवाका पक्षमा १४९ सांसदको हस्ताक्षर संकलन भएको माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए ।

उनका अनुसार कांग्रेस, माओवादी, जसपा र एमालेको माधवकुमार नेपाल समूह सांसहरुले हस्ताक्षर गरेका छन् । कांग्रेस सांसद गगन थापाका अनुसार एमाले नेपाल समूहका २७ सांसदले देउवाको पक्षमा हस्ताक्षर गरेका छन् ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरूलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छन् ।