सरकार ! सितारामको आरतीले स्वास्थ्य संकट टर्दैन

लेखनाथ न्याैपाने
काठमाडौं

सितारामको आरतीले स्वास्थ्य संकट टर्दैन !

सरकार षड्यन्त्र, खुरापात र हल्लाखोरमा दिन बिताइरहेको छ । उ निर्माण सम्मन्न नै नभएका संरचनाको उद्घाटन गर्ने, बन्दै नबनेका योजना र बजेट नै नपरेका कार्यक्रमको शिलन्यासमा मस्तराम छ ।

सरकार सीतारामको मूर्ति बोकेर रथयात्रा गर्ने, भोलेनाथको बडेबडे मूर्ति अग्लाअग्ला ठाउँमा स्थापित गर्ने र अनेकथरीका भ्यू टावर बनाएर धुरी चढ्ने प्रतिस्पर्धामा छ ।
सरकार अस्पताल बनाउने, त्यसका लागि आवश्यक स्वास्थ्य सुरक्षा, प्रविधि र जनशक्तिको व्यवस्थापन गर्ने र सर्वसाधारणको जीवनप्रति गम्भीर हुनेतिर पूरै बेमतलबी छ ।

गत साल औषधी खरिद र आइसोलेसन वाड निर्माणमा यति धेरै अनियमितता भयो कि पूरै डुङ्डुङ्ती गनाएको छ । अनियमिततासँग जोडिएका व्यक्तिलाई कानुनको दायरामा ल्याउनुको सट्ट सरकारले ओठे जवाफ फर्काएर चोखिने र उम्कने दाउ रर्‍यो ।

पूँजीवादको चरित्र नै हो कि जस्तोसुकै संकट वा आपतको बेला समेत लुटपाट, भष्टाचार र नाफा थोपर्ने काम गर्नु, जुन वर्तमान सरकारले गत वर्ष नै सबैले बुझ्नेगरी औषधी खरिदमा गर्‍यो ।

जनजीवनमा परेको गम्भीर स्वास्थ्य संकटमा समेत सर्वसाधारणले सरकार भएको वा छ भन्ने सामान्य अनुभूति गर्न पाइउदैनन् भने सरकारका नियम, आदेश र अध्यादेश सर्वसाधरणले किन मान्ने ?

अस्पताल र अक्सिजन नपाएर मर्ने र मरिसकेपछि शव व्यवस्थापन गर्ने ठाउँ नपाउने दर्नाक अवस्था छिमेकी देश भारतबाट नेपाल छिरिसकेको छ । तर हाम्रो राज्य वा सरकार बाँसुरी बजाइरहेको छ र ओलीको पालामा जस्तो विकास कसैको पालामा भएको थिएन भन्ने धुन निकालिरहेको छ ।

अन्तिम र एकमात्र विकल्प व्यक्तिगत रुपमा सबै सचेत हौं । यो संकट केही पनि होइन भन्ने भ्रममा नपरौं । विदेशबाट आउने सबैले पूरै सतकर्ता अपनाऔं ।

माया, भावना र डरभन्दा सर्तकता, सचेतता र सहयोगको वातावरण स्वयम् आफैंले निर्माण गरौं । सरकारले केही गर्दैन । केही गर्ने सम्वेदना पनि देखिदैन ।

उ अन्तै मस्तराम छ । उसले भन्दै आएको र फेरि पनि भन्ने यति मात्र हो ‘सबैले सिताराम सिताराम भनौं । हरहर महादेश भाकौं’ ।