ट्याङ्ग, प्रिङल्स, ओरियो विस्कुट र हर्लिक्स किन्दा सावधान् ! म्याद गुज्रेर पनि बजारमै छन्
उपभोक्ताको सबैभन्दा वढि रोजाइमा पर्ने गरेका खाद्य बस्तुहरुलाई म्याद थपेर बजारमा विक्रि गर्ने गरेको खुलासा भएको छ ।
खाद्य बस्तुमा पुरानो उपभोग्य मिति मेटेर नयाँ मिति राखिएको प्रकरणमा पक्राउ परेका भारतीय नागरिक रोनक बोथराले ‘रिलेबलिङ’ गर्ने कार्य दुई वर्षदेखि गरिरहेको बयान दिएपछि त्यसता सामानहरु बजारमा प्रसस्तै रहेको पुष्टि भएको हो ।
उनले बजारमा म्याद सकिएको वस्तु सस्तोमा किनेर ल्याई नयाँ मिति राखेर बजारमा बिक्री गर्ने गरेको बयान दिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । बिभागका अनुसार, बोथराले ‘डेढ–दुई वर्षदेखि यो काममा म मात्र संलग्न छु’ भनेका छन् ।
पक्राउ परेका बोथराले दिएको बयानलाई आधार मान्ने हो भने ट्याङ्ग, प्रिङगल्स, ओरियो विस्कुट, हर्लिक्स आदी वस्तुहरु रिलेबलीङ गरेर बजारमा सबैभन्दा वढि बिक्रि हुने गरेका थिए ।
विभागले आयान डिष्ट्रिब्यूटरको गोदाममा भेटिएका नयाँ मिति राखिएका वस्तुहरुको प्रारम्भिक सूची पनि सार्वजनिक गरेको छ । त्यसमा ५ हजार ७ सय कार्टुन ट्याङ्ग पाउडर जुस, ५९१ कार्टुन स्नीकर्स चकलेट, ७ सय वटा प्रिङ्गल्स चिप्स, ७९ कार्टुन ओरियो बिस्कुट, ५ कार्टुन हर्लिक्स र बर्नभिटा छन् ।
गोदामको रुपमा प्रयोग गरिएका तीन वटा घरबाट थुप्रै सामान बरामद भएकाले विस्तृत विवरण पछि आउने विभागले जनाएको छ ।
विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीको इजलाशले आयान डिष्ट्रिब्यूटरकी मुख्य सञ्चालिका पुष्पादेवी अग्रवालले आफ्नो नामको कम्पनी भएपनि ३ वर्षदेखि कारोबार नगरेको बयान दिएपछि उनलाई मुलुकी फौजदारी कार्यविधि ९संहिता० ऐन २०७४ बमोजिम धरौटीमा छोडेको छ भने अपराध स्वीकार गरेका बोथरालाई थुनामा पठाएको छ ।
आदेशमा भनिएको छ, ‘पुष्पादेवी अग्रवाललाई एक करोड रुपैयाँ जमानत वा बैंक ग्यारेन्टीमा छोड्नू र बोथरालाई थुनामा पठाउनू ।’ भाग्नसक्ने भएकाले मुद्दाको अन्तिम किनारा नलागेसम्म बोथरालाई थुनामा पठाउने आदेश भएको विभागले जनाएको छ ।
नयाँ मिति राखेर सामान बजार लैजान सघाउने कामदारहरुबाट जनही पाँच लाख धरौटी लिन र धरौटी बुझाउन नसके थुनामा पठाउन विभागले आदेश गरेको छ ।