नेकपा सचिवालय डा. केसीबारे केन्द्रीत, संवैधानिक आयोगमा नियुक्तिबारे सामान्य छलफल

मूलखबर संवाददाता
काठमाडौं, २० असोज ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा १९ औं पटक अनसन बसेका डा. गोविन्द केसीका माग र जिवनरक्षको सवालबारे छलफल भएको छ ।

मंगलबार अपरान्ह बसेको सचिवालय बैठक अनशनरत डा।गोविन्द केसीमाथि नै केन्द्रित भएको प्रबक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि जानकारी दिए । सचिवालयका नेताहरुले डा।केसीको जीवन रक्षाबारे सरकारले ठोस् कदम चाल्नुपर्ने कुरा उठाएपछि बैठक त्यसैबारे केन्द्रित भएको हो ।

‘अरु विषयमा सामान्य कुरा मात्रै भयो । तर, बैठक लगभग डा।केसीबारे नै केन्द्रित हुन पुग्यो’, प्रबक्ता श्रेष्ठले भने ।

विभिन्न ६ बुँदे माग राख्दै डा।केसी २२ दिनदेखि अनशनरत छन् । १९औं पटक अनशन बसेका डा। केसीले यसपटक विकट क्षेत्रमा चिकित्सा शिक्षासहित कोरोना संक्रमणबाट नागरिकको जीवन रक्षा गर्न पनि माग गरेका छन् ।

प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले सरकारले गर्नुपर्ने पहल गरिरहेको जवाफ दिएका थिए । प्रधानमन्त्री ओलीले बैठकमा भने, ‘शिक्षा सचिवलाई कुरा गर्न पठाएको छु, उहाँले पनि धेरै जिद्दी गर्नुभएन ।’

सचिवालय बैठकमा नेताहरुले डा। केसीबारे आवाज उठाउनुभन्दा केही घण्टाअघि मात्रै प्रधानमन्त्री ओलीले शिक्षा सचिव गोपीनाथ मैनाली नेतृत्वको तीन सदस्यीय टोलीलाई डा। केसीसँग भेट्न अस्पतालमा पठाएका थिए ।

अपरान्ह बसेको सचिवालय बैठकमा नेताहरुले डा। केसीबारे चासो राखेका थिए । बैठकपछि सचिवालयका एक सदस्यले भने, ‘प्रधानमन्त्री पनि डा।केसीको मागमा सकारात्मक देखिनुभयो । डा।केसीसँग आजै सरकारका तर्फबाट वार्ता भएको प्रधानमन्त्रीले बैठकलाई जानकारी गराउनुभयो ।’

सचिवालय बैठक अगाडि बरिष्ठ नेता माधवकुमार नेपालले डा।केसीको जीवन रक्षा गर्नुपर्ने प्रतिक्रिया दिएका थिए । मंगलबार बिहान नेता नेपालले अनलाइनखबरसँग कुरा गर्दै डा. केसीको जीवन रक्षालाई प्राथमिकता दिनुपर्ने बताएका थिए ।

मंगलबारको बैठकमा सहभागी नेताहरुले सहजकर्तालाई प्रयोग गरेर भए पनि समस्या समाधान गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको ती नेताले बताए ।

भदौ २९ मा जुम्लाबाट अनशन थालेका डा।केसी २३ औ. दिनमा अहिले त्रिभुवन शिक्षण अस्पतालमा अनशनरत छन् । उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको भन्दै दिनहुँ सडक प्रदर्शन समेत भइरहेको छ ।

सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्रीका तर्फबाट कुनै प्रस्ताव नै पेश नभएको प्रबक्ता श्रेष्ठले जानकारी दिए ।
असोज ४ को सचिवालय बैठकले नै मन्त्रिपरिषद् पुनर्गठनको जिम्मा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई दिएकाले यसबारे छलफल नभएको सचिवालयका एक नेताले बताए ।

भदौ २६ को स्थायी कमिटीले गरेको निर्णयअनुसार, मन्त्रिपरिषद् पुनर्गठनबारे नेकपामा लगातार छलफल भइरहेको छ । सोमबार दिउँसो मात्रै पनि दुई अध्यक्ष ओली–प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको थियो ।

त्यसैगरी संवैधानिक आयोगका नियुक्तिहरुबारे अर्को बैठकमा छलफल हुने गरी सचिवालय बैठक टुंगिएको छ । अर्को बैठकको मिति तोकिएको छैन ।