काठमाडौं उपत्यकामा कोरोनाका ९०२ नयाँ संक्रमित, भयावह बन्दै काठमाडौंमा संक्रमण

मूलखबर संवाददाता
काठमाडौं, १५ असोज

काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ९०२ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाको तीन जिल्लामा ९०२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौंमा ६९७, ललितपुरमा ११२ र भक्तपुरमा ९३ मा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौंमा २७४ महिला र ४२३ पुरुष, ललितपुरमा ४६ महिला र ६६ पुरुष तथा भक्तपुरमा ५३ महिला र ४० पुरुष सङ्क्रमित थपिएका हुन् ।

त्यसैगरी, उपत्यकाका तीन जिल्ला सम्मिलित वागमती प्रदेशका १२ जिल्लामा पछिल्लो चौबीस घण्टामा एक हजार ३६ जनामा सङ्क्रमणको पुष्टि भएको हो । पछिल्लो चौबीस घण्टामा देशभरि एक हजार ५५९ जना नयाँ सङ्क्रमित थपिएकोमा दुई तिहाइ वागतमी प्रदेशका छन् ।

काठमाडौं उपत्यकाबाहेक चितवनमा सबैभन्दा बढी ६२ जना नयाँ सङ्क्रमित थपिएका छन् । र मकवानपुरमा ३८ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

पछिल्लो चौबीस घण्टामा एक हजार ५७ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । चौबीस घण्टामा १२ हजार २०५ जनाको आरटीपीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।