यात्रा (कविता)- लक्ष्मी गुरूङ
यात्रा
कहिले जमिन छोएको यात्रा, कहिले जमिन छोडेकाे यात्रा
कहिले हावाँसग उडेकाे यात्रा, कहिले पानीमाथि तैरेको यात्रा
कहिले गगन चुमेको यात्रा, कहिले गहिराइमा डुबेकाे यात्रा
कहिले रापको यात्रा, कहिले तापको यात्रा
थरीथरी नानाथरी यात्रा, यात्रै यात्राको यात्रा
यो सङ्घर्स गर्नेको यात्रा
खै सुन्छु म, मेरो भन्दा उसको यात्रा फरक छ रे
हत्केलाले सुर्य छेक्दै पसिना पुछ्नु परेन रे
चन्द्रमाको धब्बा छायाँसँगै उज्यालो सहारा लिन पर्दैन रे
पाइला खियाउँदै खुड्किला गन्न पर्दैन रे
उ सधैँ उचाइमा तल झर्न पर्दैन रे
सुन्छु म उ आफैँ पुगेको होइन त्यहाँ पुर्याइयो र त झर्न पर्दैन रे
यात्रा नानाथरीका छ्न् कोहि खालि खुट्टे यात्रा
कोहि बगर बालुवाको यात्रा
कहि झिरै झिरले रोपिने यात्रा, कहिले धारै धारले रेटिने यात्रा
जिबन जति रोपियो उति रापिने, जति रेटियाे उति तिखारिने
जिबन साँचो भोग्ने र बुझ्नेहरुको यात्रा
जिबनलाइ कुदिदै जाने सिला बनाउनेहरुको यात्रा
यात्रा थरिथरिका छन,
कहिँ सारथी हत्केला बनाइ पाइला घिसार्नेहरुको यात्रा
कहि पिठिउँमा कार्पेट बिछ्याइ पाइला लतार्नेहरुको यात्रा
सारङ्गी सप्तरङ्गी धुनै धुनको यात्रा
कहिल्यै बेरङ्गी हुन नपर्ने बेखबर हुन नपर्ने
कस्तो अनौठो बनावटी सुन्दरता भित्रको यात्रा
त्य्सैले त उ कहिल्यै रुन परेन रे
अरुले नै परेला भिजाइ दिएको यात्रा
अरुले नै मुटु जलाइ दिएको यात्रा
एउटा संघर्ष बुझ्नेको यात्रा
अर्को संघर्ष लुट्नेकाे यात्रा !!