सम्झनामा नाम जस्तै उज्याली र रापिली गंगा लामिछाने `क.ज्वाला´

जानुका धमला `सन्ध्या´
काठमाडौं

नाम जस्तै निश्चल थियो उनको काम पनि वर्गमुक्तिको खातिर । यतिखेर वर्ग संघषका गाथा इतिहास अर्धमुर्छित छन् । उठन मन छ तर यो विरतालाई उठाईदिने कसले ? मुर्छित इतिहासको वरिपरी ठूलो समाघिस्थल छ, जहाँ बिलिन भएका सहयात्रीहरु चिच्चाएको आभाष गर्छु म घरिघरी । समाधिस्थल पनि असाध्यै प्यारो लाग्छ मलाई चाहे तिनीहरुका कंकालले कसैले भनेको कथा जस्तो भएर मलाई तर्साउन वा लखेटन नै किन नआउन् । डर लाग्दैन मलाई उनीहरुको त्यो चिच्यावटको नजिक गएर सुन्न र नियाल्नको लागि । म साससहित छु र त सुन्छु । उनीहरु सासरहीत छन् र पो समाधिस्थलबाट चिच्चाई रहेका छन्, बिलिन सपनाहरुसंग ।

यो पटकको मेरो समाधिबाट आफनो आवाज बुलन्द गरिरहेकी साहासीक पात्र हुन् रसुवा जिल्ला साबिकको धैबुङ्ग गाविस (हालको कालिका गाउँ पालिका)की योद्धा गंगा लामिछाने क. ज्वाला । २०३८ सालमा बुबा शिव प्रसाद लामिछाने र आमा नेत्र कुमारी लामिछानेको कोखबाट दोस्रो सन्तानको रुपमा जन्मनु भएकी क्रान्तिकारी योद्धा ज्वाला । क्रान्तिको राको देशभरी दन्कीदै थियो । त्यही राकोमा आफूले अर्काे मसाल बोक्न आट हिक्मत गर्ने क्रान्किारी सिपाही हुन् उनी । उहाँ २०५६ सालमा पाटीको पूर्णकालिन कार्यकर्ता हुनुभयो । २०५७ सालमा नुवाकोट जिल्लाको तारुका चौकी आक्रमण्डको क्रममा रसुवा-नुवाकोटको तर्फबाट महिला छापामार कमाण्डर । धादिङको दार्खा चौकी कब्जा गर्ने क्रममा पनि उहाँ सहभागी हुनुहुन्थ्यो । २०/२५ वर्ष अगाडिको नेपालको सामाजिक परिबेश कस्तो थियो सजिलै बुझ्न सकिन्छ । जहाँ महिलाहरु दोस्रो दर्जाको नागरिक भएर बाँच्न बाध्य थिए । सदियौंदेखि पितृसत्तात्मक राज्यबाट पीडित थिए । महिलाले पडकाएको बन्दुक पडकिदैन भन्ने रुढीग्रस्त सोचबाट गुज्रेको पितृसत्तात्मक चिन्तनले ग्रस्त थियो । त्यो सारा भ्रमलाई छिचोल्दै संसार बदल्ने महान अभियानमा लिंगीय आधारमा होइन अवसरको आधारमा मूल्यांकन हुनुपर्छ भन्ने मान्यता राखेर शदियौंदेखि जकडिएको बिचारलाई चुनौति दिने काम सानो आटले सम्भब थिएन त्यो बेला । उहाँलाई दुनियाँमा असम्भब छ भन्ने कुनै पनि कुरा लाग्दैन थियो ।

मलाई यो स्वार्थी दुनियाँको ३० वर्ष भन्दा वर्गीय आन्दोलनको पाँच वर्ष नै प्यारो लाग्छ । जीवनको भीमकाय पहाडहरुलाई छिचोल्दै सुन्दर समर्थर संसारमा पुग्ने सुनौलो सपना, अजिब लाग्छ आज सम्झदा । खैर, सपना बीचैमा तुहियो वा तुहाइयो त्यसको पनि समीक्षा होला कुनै कालखण्डमा । वर्गीय मुक्तिको गगनभेदी नारा लगाएर आफनो भौतिक शरीरलाई हाँसीहाँसी बलिबेदीमा होमिने महान योद्धाहरुको बलिदानले प्राप्त भएको गणतन्त्रमा त्यहि रगतलाई अपमान भएको देख्दा मन पोल्छ । त्यसैले त यादहरु मेटाउने कोशिस गर्छु म ।

प्रियमनहरु तपाईहरुको बलिदानी भएको १० वर्षहरु अब कहिल्यै फकिएर आउने छैनन् समिपमा । वर्गीय मुक्तिका गितहरु, वर्गीय भावनाले ओतप्रोत मनहरु ब्यक्तिगत स्वार्थ भन्दामाथि वर्गीय स्वार्थ । जीते सिंगो संसार हारे फगत एउटा जीवन । यही सिंगो संसार जित्ने तपाईको सपनाको साक्षी म । त्यहि सपना बाडने क्रममा नै ढुंगे पहाडको मुनि तपार्ईको घरमा भएको पहिलो तथा अन्तिम भेट अजिब र अमिट छ ।

वर्ग सर्घषका लागि पाइला चाल्दै गर्दा मिठा यादहरु छन् तपाईको घर परिवारसंग । आमाको नजरमा तपाई रसुवादेखि टाढा हुनुहुन्थ्यो र मेरो छोरी जस्तै छौ भनेर माया पाएको थिए मैले । भाईबैनी सानै थिए, दिदी जस्तै हुनुहुन्छ भनेर सम्मान पाएको थिँए । अहिले पनि कायम छ वर्गीय नाताले जोडेको हाम्रो अमर सम्बन्ध । आजकाल धेरैले सम्झिए जस्तो लाग्दैन त्यो बेलाको वर्गीय प्रित र सम्बन्धलाई । तर मलाई अजिव प्यार छ ति नाताहरुसंग । गंगा जस्तो जनयुद्धको लागि छोरी जन्माउने महान आमा बाबाप्रति कृतज्ञता प्रकट गर्दछु ।

युद्ध भित्रको भीमकाय संर्घषको बारेमा तपाईबाट त्यति धेरै जान्ने अवसर पाए जुन मैले अगाडि नै तपाईले भोगिसक्नु भएको थियो । म पूर्णकालिन हुँदै गर्दा तपाई नेता कमाण्डर बनिसक्नु भएको थियोे । क्रान्तिको अभिभार काधमा बोक्ने हैसियत बनाइसक्नुभएको थियो । त्यसैले त रसुवा-नुवाकोटमा हुँने सबै फौजी गैरफौजी कारवाहीहरुमा तपाईको समान सहाभागिता थियो । तपाईले फौजी मोर्चाको बारेमा कुरा गरिरहँदा, बन्दुक पडकाएको कुरा सुनाइरहंदा मलाई अलि-अलि इर्श्या पनि लाग्थ्यो, मैले पनि कहिले तपाइले जस्तै गरी बन्दुक पडकाउने होला भनेर । जसलाई वर्गदुश्मन करार गरिएको थियो उनीहरुको राज्यलाई ध्वस्त बनाएर सर्वहारावर्गको राज्य स्थापना कहिले गर्ने होला ? अनगिन्ती प्रश्नका भारी हुन्थे मनभित्र ।

कम्युनिस्ट व्यावहारिक हुनुपर्छ भन्ने त्यो तपाईको मान्यता थियो । तपाई भन्ने गर्नुहुन्थ्यो- ‘काङ्ग्रेस कहिलै जनतामुखी हुन सकेन, त्यसैले उ देशको लागि बिडम्बना हो ।’ तपाईं अझै भन्नुहुन्थ्यो- ‘साम्राज्यवाद, पूंजीवाद मुर्दावाद ।’ मान्छेले मान्छेलाई शोषण गर्ने व्यवस्थाको अन्त्य हुनुपर्छ भन्ने तपाईको वर्गीय प्रेमप्रतिको मान्यता थियो । अदम्य सहासको धनी क.ज्वाला जो २१ वर्षको कलिलै उमेरमा शहीद हुनुभयो । क्रान्तिले सुम्पिएको जिम्मेवारी पूरा गरेर जानुभो ।

मैले तेसै भनेको होइन, यो स्वार्थी दुनियाँको ३० वर्ष भन्दा युद्धको पाँच वर्ष नै प्यारो भनेर । किनकी त्यो समय अहिलेको जस्तो पैसा कमाउने होडबाजी थिएन  । उहाँले बोकेका वर्गीय सपनाहरु, प्रमिथस, स्पार्टाकस, मार्क्स, लेनीन, माओ, भगत सिंह, चे, गंगालाल जस्तै आदर्श मानेका नेताहरुका लागि । पूँजीवादी संसदीय व्यवस्था प्रधानमन्त्री, सांसद किनबेच गर्ने थलो बनेको छ । जनता उनीहरुलाई सत्तामा पुर्याइदिने भर्याङ्ग बनेका छन् । अझै पनि आशा र विश्वास बाँकी छ कि तपाईहरुको सपना बोकेर इतिहासका प्रत्येक घात-प्रतिघात चिरेर अगाडि बढिनेछ । जबसम्म मान्छेले मान्छेलाई शोषण गर्ने व्यवस्थाको अन्त हुदैन, तवसम्म निरन्तर संघर्ष भैरहनेछ ।

उहाँ मेरो प्रिय कमरेड

उहाँको शहादत मसान भएको होइन

उहाँले बोकेको मशाल भएको छ

उहाँको शहादतलाई लालसलाम !

उहाँको सहादत भएको आजको दिन अठार वर्ष पुगेको छ । सपनाहरु मुर्छित छन् तर उहाँ हिडेको बाटोमा निरन्तर हिडिरहने प्रणका साथ अभिवादन ।

तपाईहरुको रगतबाट सिर्जित गणतन्त्र नेपाल स्थापना भएको छ । गणतन्त्र सँगसँगै संघीयता, धर्मनिरपेक्षता समानुपातिकता जस्ता जनयुद्धले उठाएका मुद्धाहरु स्थापित गर्ने त भनिएको छ तर ‘बाख्राको टाउकोमा भैसीको सिङ’ भनेर संघीयताको अपमान गर्नेहरु नै सत्ताको नेतृत्वमा छन् । तपाईहरुको बलिदानिलाई भर्याङ्ग बनाएर सत्ताको महोमा मस्त नव धनाड्यहरु थपिएका छन् । जनताको जनजीविकाका सवालहरु झन कमाजोर भएको छ । शोषित उत्पीडित बर्ग, जात, समुदाय निर्धक्कका साथ् जनताका समस्यालाई लिएर मंच आगाडि उभिएर बोल्न सक्ने चैं भएका छन् । बलिदानबाट निस्किएको यो एउटा सुन्दर पक्ष हो, जुन तपाईहरुको महान बलिदान विना प्राप्त हुने सम्भावना थिएन ।

जनयुद्ध रणनैतिक प्रत्याक्रमणको चरणमा प्रबेश गरेको थियो । प्रत्येक पहल जीवन र मृत्युलाई हत्केलामा राखेर हिडनुपर्ने समय थियो त्यो । परिर्वतनका खातिर आफूलाई बलिबेदीमा चढाउनु भएको तपाईको अमूल्य जीवनले कहिल्यै भौतिक सुख अंगालेन । युद्धको समयमा पनि कति गद्दारहरु निस्किएका थिए ।  तर तपाईले बर्गप्रतिको त्याग र समपर्णलाई झनै बलियो बनाउनु भयो । सारा अवसरको सम्भावनालाई तिलाञ्जली दिँदै शहीदको कोटामा आफनो नाम थप्नु भयो । तपाई त्यतिबेला शहीद हुनुभयो जतिबेला संसदवादी दल र दरवारको योजनमा संकटकाल घोषणा भएको थियो । त्यो समय अत्यन्तै क्रुर र पासविक थियो । संकटकाल घोषणा हुनेबितिक्कै गाँउदेखि सहरसम्म प्रतिकार समितिहरु बने । माओवादी आन्दोलमा सहभागि नेता तथा कार्यकर्ताहरुको प्रत्येक गतिबिधिहरु दुश्मनहरुको अखडामा पुग्न थाल्यो । सोहीअनुसारको योजना बनाएर गाँउ-गाउँमा शाही सेनालाई परिचालन हुन् थाले । सोहीक्रममा धादिङको बैरेनी गाविस कोइली खर्कमा पार्टीको जिम्मेवार कमरेडलाई खतरामुक्त स्थानमा स्थान्तरण गराउँदै गर्दा तपाई शाही सेनाको घेरामा पर्नुभयो । र त्यहि तपाईको हत्या गरियो । तपाईले चाहेको भए आत्मसमपर्ण गरेर बाच्न सक्नुहुन्थ्यो तर गद्दारी तपाईलाई कहिले मन परेको थियो र ? यो पटक पनि मन परेन ।

२०५९ साल श्रावण महिनाको २८ गते तपाईले क्रान्तिले दिएको जिम्मेवारी पूरा गर्नुभयो । शाही सत्ताका राक्षसहरुले तपाईलाई लुछिलुछि मारे । आमाको काँख रितियो । बाबु आमाले मुटुको टुक्रा गुमाउनु भयो । भाईबैनीले अभिभावक गुमाए । तपाईको हत्यापछिको आमाको अवस्था अहिले पनि याद छ मलाई । कयौं रात तपाईको यादमा आमाका परेली रुझीरहे । तपाईको बहिनीलाई जिम्मेवारी बोधले सतायो । भाइ र कान्छी बहिनी सानै थिए । कलिलै उमेरमा घरको सम्पूर्ण अभिभारा बोकेर असल अभिभावक बनेर आफनो दायित्व पुरा गर्ने बहिनीलाई पनि मिठो सम्झना ।

तपाई सर्वहारा जनताको नजरमा कहिल्यै पनि मारिनु भएन । बरु झन आगोको झिल्का बनेर निस्कनु भयो । तपाईको सहादतको प्रतिरोधमा दरिलो मुठी कसेर गाँउ बस्तीहरु उठे । विडम्बना त यो भयो की तपाइहरुले बगाउनु भएको रगतले सर्वहारावर्गले मुक्ति पाएन, ठेकेदारहरुको राज चल्यो देशमा । गणतन्त्र दाईबरादो जस्तो भयो । दशकौदेखि असल नेता नेपाएको नेपालले गणतन्त्रमा पनि एउटा असल नेता पाउन सकेन । ठेकेदार र सामन्ती चिन्तनले नै प्रसय पायो यो पटक पनि । ठेकेदारको चिन्ता भनेको नाफा घाटाको हुन्छ । ठेकेदारलाई जनताको जनजीविकाका सवाल र जनचासोसंग के वास्ता । सुन्दर गणतन्त्र नेपाल घोषणा गर्ने तपाईको भौतिक शरिरको बलिदानीलाई लाखौं लाख सलाम । गंगा लामिछाने क.ज्वालाप्रति लाखौं लाख श्रद्धाञ्जली । अजर अमर सम्झना ।