मेची पुलको ‘नेपाल पार्क’ नयाँ पर्यटकीय आकर्षणको केन्द्र बन्दै

मूलखबर संवाददाता
काठमाडौं

भद्रपुरलाई भारतको सीमावर्ती सहर गलगलियासँग जोड्ने मेची पुलको पूर्वी प्रवेशद्वारमा निर्माण गरिएको ‘नेपाल पार्क’ नयाँ पर्यटकीय आकर्षणको केन्द्र बनेको छ ।

भद्रपुर नगरपालिका–७ स्थित मेचीपारिको नेपाली भू–भागमा अवस्थित यो पार्क भारतका पश्चिम बङ्गाल र विहार प्रान्तबाट नेपाल भित्रिने मुख्य नाकामै निर्माण गरिएको हो ।

पार्कमा नेपाल अङ्कित अक्षरको कलात्मक आकृति, भगवान गौतम बुद्धको सुनौलो प्रतिमा, मनमोहक फोटो पोइन्ट, आरामदायी फलैँचा, फरफराउँदो नेपालको राष्ट्रिय झण्डा र मुलुकका प्रमुख पर्यटकीयस्थल समेटिएको होर्डिङ बोर्ड राखिएको सामाजिक अभियन्ता रोयल सञ्जयले जानकारी दिनुभयो ।

यहाँको मेची नदीमा निर्मित पक्की पुलको शतप्रतिशत भाग नेपाली भूमिमा पर्दछ भने पुलपारिको सडक र खेत पनि नेपाली भू–भाग नै हुन् । मेचीपारिको यही विशेष भूगोलमा बनेका कारण यस पार्कले नाकाबाट आवतजावत गर्ने दुवै देशका नागरिकका साथै तेस्रो मुलुकका पर्यटकको ध्यान खिच्ने गरेको छ ।

गत वैशाख १ गते विधिवत उद्घाटन गरिएको यस पार्कमा राखिएको होर्डिङ बोर्डमा सगरमाथा, पशुपतिनाथ, लुम्बिनी, फेवाताल, कचनकबल, किचकबध र बडिमालिकाजस्ता देशका प्रमुख धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थलका तस्बिर सजाइएको छ ।

पार्कमा कङ्क्रिटबाट आकर्षक ‘नेपाल’ आकृति बनाइएको छ, जहाँ पुगेर आगन्तुक फोटो भिडियो खिचाउँदै रमाउने गर्छन् । पार्क नजिकै नाकाको सुरक्षा र व्यवस्थापनका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सारका प्रतिनिधि परिचालित छन् ।

पार्क निर्माणको परिकल्पना र नेतृत्व गर्नुभएका अभियन्ता सञ्जयका अनुसार स्थानीय दाताको स्वेच्छिक सहयोगमा करिब रु दुई लाख ५० हजारको लागतमा यो संरचना तयार भएको हो । यसका लागि उहाँ आफैँले श्रमदान गर्नुभएको थियो ।

“मेची पुलपारिको भू–भाग पनि नेपालकै हो भन्ने सन्देश दिन र नाकाको प्रवेशविन्दुलाई सुन्दर बनाउन यो पार्क सफल भएको छ,” सञ्जय भन्नुहुन्छ ।

विर्तामोड नगरपालिका–४ का अजय साहले नेपाल पार्कमा फोटो खिच्न पाउँदा खुसी व्यक्त गर्दै यसले मेचीपारिको नेपाली भू–भागमा राष्ट्रिय पहिचान स्थापित गरेको बताउनुभयो ।

“यो पार्कले नेपाल प्रवेश गर्ने जो कोहीको मन लोभ्याउँछ,” उहाँ थप्नुहुन्छ, “राष्ट्रप्रतिको गौरवबोध र सकारात्मक भावना जगाउन यस्ता संरचनाले ठूलो योगदान पुर्याउँछन् ।”

पार्कको विशिष्ट भौगोलिक अवस्थिति र प्राकृतिक सौन्दर्यका कारण यहाँ ‘पाँच पाण्डव’लगायत ठूलो पर्दाका विभिन्न चलचित्रको छायाङ्कन भइसकेको छ ।