म्याग्दीमा पहिरोले घर बगाउँदा ९ को मृत्यु, बेलिब्रिज बगायो, २० वेपत्ता

मूलखबर संवाददाता
काठमाडौं

म्याग्दी, २६ असार ।
जिल्लाको धवलागिरी गाउँपालिका–६ मराङको रिखामा करिब १० वटा घर बगाउँदा कम्तीमा ९ जनाको मृत्यु भएको गाउँपालिका अध्यक्ष थमसरा पुनले जानकारी दिए ।

उनका अनुसार ठूलो पहिरोले पुरै रिखा गाउँ जोखिममा छ । त्यस्तै गाउँपालिकाकै वडा नं ७ मा समेत पहिरो गएको छ । क्षतिको विवरण आइसकेको छैन ।

अविरल वर्षात्का कारण जिल्ला म्याग्दीको विभिन्न स्थानमा २० जना वेपत्ता भएका छन् भने एउटा बेलिब्रिज खोलाले बगाएको छ ।
पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिका–६, मराङको रिखा, घण्टीबाङ राम्चेर कल्लेनी तथा मालिका गाउँपालिका बिममा पहिरो धनजनको क्षति गराएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी किरणजंग कुँबरका अनुसार धौलागिरी गाउँपालिकाको मराङमा १० जना सम्पर्क विहीन रहेकाका छन् भने ४ वटा घर पूर्ण रुपमा क्षती पुगेको खबर छ ।

त्यसैगरी धौलागिरी गाउँपालिका–७, ताकममा २ जना पहिरोमा बेपत्ता भएका छन् । त्यस्तै मालिका गाउँपालिका–७ बिममा ८ जना बेपत्ता भएको सूचना प्राप्त भएको डिएसपी कुँबरले बताउनुभयो । उहाँका अनुसार घटनास्थल तर्फ प्रहरी टोली परिचालन भएको भए पनि पुगि नसकेकोले एकिन पुष्टि हुन बाँकी छ ।

त्यस्तै बेनी जोमसोम सडक खण्डको गलेश्वर स्थीत राहुघाट नदिमाथिको बेलीब्रीज राहुघाट नदिले बगाएको छ । वर्षात् पछि उर्लेर आएको नदिले बेलीब्रीज बगाएको सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले बताउनुभयो ।
अविरल वर्षात्का कारणले गर्दा सञ्चारको माध्यमले समेत राम्रो सँग काम गर्न नसकेकोले थप विवरणहरु आउन कठिन रहेको र सबै क्षेत्रमा सुरक्षाकर्मीको टोली परिचालन गरि विवरण संकलन र उद्धारमा खटिएको डिएसपी कुँबरले बताउनुभयो ।