ओली सचिवालय बैठक छाडेर हिँडेपछि स्थायी समिति बैठक अनिश्चित ? एजेण्डामा छलफल हुनै पाएन
सत्तारुढ दल नेकपाको सचिवालय बैठक प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्षले बीचैमा छाडेर गएपछि छलफल नै नगरी सकिएको छ । भोलीबाट तय गरिएको स्थायी समितिको बैठकमा प्रस्तुत गर्ने एजेण्डा र कार्यविधि तय गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरिएको सचिवालय बैठक शुरु हुने वित्तिकै ओली केही बेर बसेर बाहिरीएपछि करिब १ घण््टा कुरेर बैठक सकिएको हो ।
सचिवालय बैठक सकिएपछि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलपल भइहरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार भोलि बस्ने भनिएको स्थायी समिति बैठकबारे दुई अध्यक्षले अहिलेको छलफलमा निर्णय गर्नेछन् ।
यसअघि प्रधानमन्त्री ओली बैठक चल्दाचल्दै उठेर हिँडेका विषयमा प्रवक्ता श्रेष्ठले कहिलेकाँही सकिएन भने बैठकलाई जानकारी गराएर बैठकबाट निस्कने चलन रहेको उल्लेख गरे । उनले भने, ‘ कहिलेकाँही सकिएन भने बैठकलाई जानकारी गराएर बैठकबाट निस्कने चलन रहेको छँदैछ । आजपनि सम्माननीय प्रधानमन्त्रीले आफु्नो केही व्यस्तताका कारण र केही शारिरिक कारणले पनि बस्न नसक्ने भनेर जानकारी गराएर जानुभएको हो ।’
उनले अघि भने,‘बैठकमा यसअघि बसेको बैठकको निश्कर्षअनुरुप २० जना स्थायी समिति सदस्यहरुले बैठक बोलाउन गरेको अनुरोधलाई ध्यानमा दिई भोलि स्थायी कमिटीको बैठक बस्ने निर्णय भएको थियो । त्यही निष्कर्षको मर्म अनुरुप प्रस्ताव तयार पार्ने प्रक्रियामा दुई अध्यक्ष कमरेडहरुले अझैपनि गृहकार्य गर्न बाँकी रहेको बैठकलाई जानकारी गराइयो ।’
त्यसबारे दुई अध्यक्षले अहिले सल्लाह गरेर बैठकको कार्यसूची वा बैठकको बारेमा नै के गर्ने बारे निर्णय गर्ने उनले बताए । उनले भने, ‘दुई अध्यक्षले अहिले सल्लाह गरेर बैठकको कार्यसूची वा बैठकको बारेमा नै के गर्ने बारे निर्णय गर्नुहुनेछ ।’
प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओली स्थायी समितिको बैठकबारे शुरु देखि नै त्यति सकारात्मक थिएनन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेब गौतम, प्रबक्ता नारायणकाजी श्रेष्ठ लगायतले २० जना स्थायी समिति सदस्यले बैठक माग गरेकाले त्यसैमा छलफल गर्ने गरी अघिल्लो सचिवालय बैठकले स्थायी समितिको बैठकको मिति तय गरेको थियो ।
स्थायी समितिको बैठककका एजेण्डा सहमतिमा तय गर्न अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेललाई दिने सहमति ओली र प्रचण्ड बीच भएको थियो । प्रचण्ड र पौडेलले एक व्यक्ति एक मुख्य जिम्मेवारी भन्ने मुख्य विषय बैठकको एजेण्डा बनाउने प्रस्ताव प्रचण्डले आजको बैठकमा राखेको र त्यसैका कारण ओली बैठक छाडेर गएको एक सदस्यले बताए ।
प्रचण्ड नेपाल खनाल र श्रेष्ठ गठबन्धनले एक व्यक्ति एक मुख्य जिम्मेवारी, विधिमा पार्टी, निगरानीमा सरकार भन्ने विषयलाई स्थायी समितिको बैठकको मुख्य एजेण्डा बनाउने सहमति गरेका थिए ।