मे दिवस : मजदुरलाई विशेष सहयोगको प्याकेज दिन सरकारलाई प्रचण्डकाे अाग्रह

मूलखबर संवाददाता
काठमाडौं

नेकपा अध्यक्ष तथा पुुुुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रमिक मजदुरलाई विशेष सहायता पयाकेज बनाउन सरकारकाे ध्यानाकर्षण गराएका छन् ।

१३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले  ज्याला गरेर जीविकोपार्जन गर्नुपर्ने राजधानी लगायतका विभिन्न सहरमा रहेका निम्न वर्गीय श्रमजीवी जनताको खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक राहत र विशेष सहयोगको प्याकेज निर्माण गर्न सरकारको विशेष ध्यानाकर्षण गराएका हुन् ।

काेभिड १९ ले गर्दा यतिबेला संसारभरका श्रमजीवि मजदूरहरुको रोजगारी गुमिरहेको बताउदै प्रचण्डले साे अाग्रह गरेका हुन् ।

शुभकामनाकाे पाठ-

१३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी जनसमुदायमा सु–स्वास्थ र प्रगतिको अपेक्षा सहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।

सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टे कार्यदिनको लागि गरिएको आन्दोलनको स्मरण गराउने गौरवशाली दिनको रूपमा हरेक वर्ष आजकै दिन अर्थात मई १ मा विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइन्छ ।

त्यसैगरी नेपालमा वि.स. २००३ सालमा विराटनगर जुट मिलबाट सुरु भएको श्रमिक आन्दोलन, विभिन्न कालखण्डका सशस्त्र र शान्तिपूर्ण जन–आन्दोलनहरुमा श्रमजीवि जनताको बलिदानीपूर्ण संघर्षलाई हामी गर्वका साथ स्मरण गर्दछौं ।

आज विश्वव्यापी महामारीका रुपमा देखा परेको कोभिड–१९ नामक घातक भाइरसको सामना गर्न सिङ्गो विश्व नै संघर्षरत छ । यतिबेला संसारभरका श्रमजीवि मजदूरहरुको रोजगारी गुमिरहेको छ ।

दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नुपर्ने राजधानी लगायतका विभिन्न सहरमा रहेका निम्न वर्गीय श्रमजीवी जनताको खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक राहत र विशेष सहयोगको प्याकेज निर्माण गर्न म सरकारको विशेष ध्यानाकर्षण गराउँदछु ।

देशका विभिन्न भागहरुबाट आ–आफ्नो घर फर्किने क्रममा अलपत्र परेका मजदूर र अन्य जन–समुदायलाई सुरक्षितरुपमा गन्तव्यमा पुर्याउनु पर्ने कर्तव्य हामी सबैको हो ।

कोरोना भाइरस (कोविड–१९) को संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न श्रमजीवि जनसमुदायमा अपील गर्दै पुनः एकपटक सुख, शान्ति र समृद्धिको कामना गर्दछु ।

१९ बैशाख, २०७७ ( सन् २०२०, मई १)

……………………

पुष्पकमल दाहाल ‘प्रचण्ड’

अध्यक्ष