चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधन, पुग्नै भ्याएनन् अस्पताल
चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको ह्दयघातका कारण आइतबार राती निधन भएको छ । आइतबार राति अकस्मात ह्दयघात भएपछि अनामनगरस्थित घरबाट चाबहिलस्थित ओम अस्पताल लैजाँदै गर्दा भट्टराईको निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले जानकारी दिनुभएको छ । राति १० बजेर २० मिनेट जाँदा ओम अस्पतालमा पुर्याउँदा चिकित्सकले भट्टराईलाई मृत घोषणा गरिसकेका थिए ।
५२ वर्षीय भट्टराई लामो समयदेखि नेपाली चलचित्रमा चरित्र अभिनेताको रुपमा अभिनय गर्दै आएका थिए। उनी चलचित्रका निर्माता पनि हुन। भट्टराई एक वर्षअघिदेखि चलचित्र विकास वोर्डको अध्यक्ष थिए।
भट्टराईको शवको त्रिवि शिक्षण अस्पतालमा सोमबार बिहान १० बजेपछि पोष्टमार्टम हुनेछ। त्यसपछि शनिबार निधन भएका अर्का अभिनेता दिपक क्षेत्री र भट्टराईको शव दिउँसो २ बजेपछि चलचित्र विकास वोर्डको कार्यालयमा अन्तिम श्रदाञ्जलीका लागि राखिने अध्यक्ष लामाले जानकारी दिनुभएको छ । सोमबार नै दुवै जनाको दाहसंस्कार गरिने पनि लामाले बताउनुभयो।
उनको निधनले नेपाली सिने जगतले एक आशालाग्दा र प्रतिभाशाली व्यक्तित्व गुमाएको छ । हाम्रो पनि उनी प्रति हार्दिक श्रद्धाञ्जली ।