अर्थका ६० उपसचिवको सरुवा : को कोले पाए मालदार अड्डा ?
अर्थमन्त्रालयले ६० उपसचिवको पदस्थापन गरेको छ । सामान्य प्रशासन मन्त्रालयले २०७५ चैतमै समायोजन सके पनि अर्थमन्त्रालयले पदस्थापन गर्न सकेको थिएन । २०७६ असोज १५ सम्म पदस्थापना गरिसक्नुपर्नेमा सचिव राजन खनालले गर्न सकेनन् ।
असोज १५ मा पदस्थापन नगरिएपछि सामान्य प्रशासन मन्त्रालयको सहमतिमा उपनिर्वाचन सकिएपछि मात्र लागू हुनेगरी २०७६ कात्तिक २२ मा ६० उपसचिवहरुको पदस्थापन भएको छ ।
२०७६ माघ २२ मा अवकाश हुन लागेका सचिव खनालले जाँदाजाँदै आकर्षक स्थानमा आफ्ना निकट उपसचिवहरुलाई सेट गरेको आरोप लागेको छ । आन्तरिक राजस्व कार्यालयमध्ये आकर्षक मानिने भद्रपुरमा युवराज श्रेष्ठ, बिराटनगरमा बिमल सापकोटा, धरानमा तीर्थराज बराल, कालिमाटीमा चुडाराज सापकोटा, तारा सापकोटा कलंकी, नारद गौतम महाराजगंज, हरि बस्याल चावहिल, ऋषि पोखरेल पोखरा, धु्रवराज ज्ञवाली बुटवलमा सरुवा गरिएको छ ।
मोहनसिंह बस्नेत आन्तरिक राजस्व कार्यालय ठमेल, मित्रलाल अधिकारी बत्तीसपुतली, जीवन घिमिरे ललितपुर १, चन्द्रकुमार श्रेष्ठ धनगढी, गगनबहादुर विके भक्तपुर, रामहरि ज्ञवाली महेन्द्रनगर आन्तरिक राजस्व कार्यालयमा खटाइएका छन् ।
आकर्षक भन्सार कार्यालयमध्ये मेची भन्सार कार्यालयको प्रमुखमा धु्रवराज विश्वकर्मा सरुवा भएका छन् । उनी प्रधानमन्त्री केपी ओलीकै जोड लगाएर मेची भन्सारमा सरुवा हुन सफल भएको बताइन्छ । अर्को आकर्षक मानिने बिराटनगर भन्सार कार्यालयमा शिव भण्डारी पदस्थापन भएका छन् । उनी धनगढी भन्सारमा हुँदा विवादमा परेका उपसचिव हुन् । राजस्व अनुसन्धान विभागमा समेत काम गरेका उनी डाङडुङका भरमा बिराटनगरमा जान सफल भएको अर्थका अधिकारी बताउँछन् ।
ठूला करदाता कार्यालय पनि अर्थका उपसचिवका लागि आकर्षकै मानिन्छ । ठूला करदाता कार्यालयमा सरुवा हुने उपसचिवहरुमा पुस्कर न्यौपाने, हरिश्चन्द्र ढकाल, केदार शर्मा र दिनेश शर्मा छन् ।
त्यसैगरी, सरुवा हुने उपसचिवहरुमा मेची भन्सारका प्रमुख टेकबहादुर अर्याल र बिराटनगर भन्सारका मिमांस अधिकार भन्सार विभाग छन् । आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख बोलराज आचार्र्य, धरानका देवनारायण पौडेल, कलकीका कविराज सापकोटा, महाराजगंजका लोकप्रसाद न्यौपाने, ललितपुर १ का लालबहादुर खत्री, धनगढीका गोविन्द अधिकारी, महेन्द्रनगरका लेखनाथ शर्मा, भक्तपुरका सूर्य पोखरेल र बुटवलका अर्जुन ढकाल छन् ।
अर्थमन्त्रालयका उपसचिव युवराज पाण्डे राष्ट्रिय पुननिर्माण प्राधिकरण र प्राधिकरणका दिब्य पोखरेल अर्थ मन्त्रालयमा ल्याइएका छन् । मन्त्रालयबाट गौरीशंकर उपाध्याय, सुशील शर्मा नेपाल र आन्तरिक राजस्व कार्यालय चावहिलका धर्मेन्द्र मिश्र मध्यमस्तरीय करदाता कार्यालयमा सरुवा भएका छन् ।
आन्तरिक राजस्व कार्यालय कालिमाटीबाट लबराज थापा सार्वजनिक वित्त ब्यवस्थापन तालिम केन्द्र, युगजतन हुमागाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र मध्यमस्तरीय करदाता कार्यालयका नरनाथ गिरी राजस्व न्यायाधीकरणमा सरुवा भएका छन् ।
अर्थमन्त्रालयका किसनसिंह बस्नेत सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा र मध्यमस्तरीय करदाता कार्यालयका मुकुन्द पोखरेल, तारा भूसाल, कमला खरेल, दिलीप अधिकारी अर्थमन्त्रालयमा सरुवा भएका छन् । आन्तरिक राजस्व कार्यालय पोखराका केशव उप्रेती, वित्त आयोगका कपिल सुवेदी र निर्मल ढकाल अर्थमन्त्रालयमा सरुवा भएका छन् ।
सचिव खनालले सबैभन्दा कनिष्ट उपसचिव कमला खरेललाई मन्त्रालयको सर्वाधिक आकर्षक मानिने अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाअन्तर्गत पदस्थापन गर्न लागेका छन् । उनका लागि संघमा उपसचिवको दरबन्दी नै बढाउने काम गरिएको थियो ।
राजस्व समूहका १४ उपसचिवलाई प्रदेशमा खटाउनुपर्ने भएपछि संघमा दरबन्दी बढाइएको थियो । खरेल सबैभन्दा कनिष्ट भएकाले १४ उपसचिवहरु नै संघमै पर्न सफल भएका खबर साँघु साप्ताहिकले छापेको छ ।