‘१३ औं गोदावरी फूल प्रर्दशनी’ कात्तिक १ देखि ललितपुरमा हुने
१३ औं गोदावरी फूलको प्रर्दशनी’ ललितपुरमा हुने भएको छ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारलाई लक्षित गरेर फ्लोरिकल्चर एशोसिएशन, नेपालले आगामी कार्तिक १ गतेदेखि ४ गतेसम्म ललितपुरको जावलाखेलस्थित खेल मैदानमा सो प्रर्दशनी आयोजना गर्न लागेको हो ।
गोदावरी फूलको व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यका साथ सो मेला आयोजना गर्न लागिएको एशोसिएशनका उपाध्यक्ष एवम् प्रर्दशनी आयोजक समितिका संयोजक शिवबहादुर खड्काले जानकारी दिनु भयो ।
‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरी’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको सो प्रर्दशनीमा ४९ वटा प्रर्दशनी कक्षहरु रहनेपनि एशोसिएशनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
प्रर्दशनीमा यस सिजनमा फूले सयपत्री, मखमली तथा अन्य सिजनल फूल विरुवा समेत समावेश गरिनेछ । नेपालको ४३ जिल्लामा पुष्पखेतीको विस्तार भईसकेको पनि एशोसिएशनले जनाएको छ ।
यो वर्ष उपत्यकामा तिहारका लागि २५ लाख मालाको माग हुने आयोजकले अनुमान गरेको छ। जसमध्ये १८ लाख सयपत्री फूलको माला र बाँकी ६ लाख माला अन्य फूलको निर्माण गरिने आयोजकले बताएको छ।
अध्यक्ष श्रेष्ठले सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको अवसरमा नर्सरी व्यवसायी संघबाट ५० लाख बराबरको फूल किनेको समेत जानकारी दिएका छन्। मेलामा ६० रुपैयाँदेखि १ सय रुपैयाँसम्ममा पूmलको माला पाइने आयोजकले जानकारी दिएको छ।
‘गोदावरी फूलको व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले हामीले मेलाको आयोजना गर्न लागेका हौं। प्रदर्शनीको मुख्य उद्देश्य पुष्प व्यवसायीहरुलाई हौसला प्रदान गर्ने र व्यवसायीहरुबीच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरीय उत्पादनमा टेवा पुर्याउनु हो’ उनले भने।
प्रदर्शनीमा ४४ वटा व्यवसायिक स्टल, ४ सूचनामूलक स्टल र १ गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टलसहित ४९ स्टल रहने छन्।
मेलामा माला बिक्री वितरण हुनुका साथै गोदावरी फूलका नयाँ प्रजातिको समेत प्रदर्शनी हुनेछ। जसमा सयपत्री मखमली आदि छन्।
मेलामा बाहिरबाट आयात गरिने विभिन्न १६ प्रजातिका फूल प्रदर्शन गरिने आयोजकले जानकारी दिएको छ।
‘नेपालमा प्रत्येक वर्ष फूलको माग बढ्दै गएपनि आत्मनिर्भर भने हुन सकेका छैन। फ्लोरकल्चर एशोसिएसन नेपालले प्रत्येक वर्ष पाँच प्रतिशतका दरले माग घटाउदै लैजाने लक्ष्य लिएको छ’, कुमार कुसुजुले भने, ‘अहिले २० प्रतिशत फूल आयात भईरहेको छ, हामी यसलाई घटाउन चाहान्छौं।’
वि.सं.२०११ सालबाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसायले २०७५/७६ सम्म आईपुग्दा ७ सय बढीले पुष्प व्यवसाय गरिरहेका र ४३ जिल्लामा पुष्प खेति विस्तार भइसकेको आयोजकले जानकारी दिएको छ।
हाल नेपालमा १ सय ५७ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको र ४३ हजार ५ सय जनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी पाइरहेको एशोसिएसनको दावी छ।