नेपालीको जिवनस्तर उकास्न चिनियाँ राष्ट्रपतिले दिने भए ५६ अर्ब १८ कराेड रूपैयाँ सहयाेग
नेपालकाे राजकीय भ्रमणको क्रममा रहेका उत्तरी छिमेकी चिनियाँ राष्ट्रपति सी चीनपिङले नेपाललाई सन् २०२० देखि २०२२ सम्मका लागि ३.५ अर्ब चिनियाँ यूआन सहयोग उपलब्ध गराउने घोषणा गरेका छन्।
राष्ट्रपति विद्यादेवि भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको राजकीय भ्रमणका लागि आएका चिनियाँ राष्ट्रपति सीले राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित द्विपक्षीय उच्चस्तरीय वार्तामा सो घोषणा गरेका हुन्।
यो सहयोग रकम आजको सटही दर अनुसार ५६ अर्ब १७ करोड रूपैयाँ भन्दा बढी हुन्छ। नेपालीको जीवनस्तर उकास्नका लागि भन्दै उनले सो रकम सहयोग स्वरूप उपलब्ध गराउने घोषणा गरेका हुन् ।
त्यस अवसरमा नेपालमा कम्युनिष्ट पार्टीले शासन सम्हालेपछि गरेको विकासका लागि हार्दिक बधाई व्यक्त गर्दै चीनले शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्तका आधारमा सम्बन्ध स्थापना गरेको र सबैका लागि सबैसँग मिलेर सम्बन्ध बलियो बनाउने प्रयास गरेको उनले बताए ।
उनले गरीबी निवारणका क्षेत्रमा चिनियाँ अनुभव सिक्न सकिने बताउँदै चीनमा यस्तो कार्य उद्देश्यअनुरुप भएको र ८० करोड मानिसलाई गरीबीबाट मुक्त गरिएको बताए ।