चिनियाँ राष्ट्रपति सि जिनपिङ काठमाडौंमा, विमानस्थलमा भव्य स्वागत

मूलखबर संवाददाता
काठमाडौं, २५ असोज ।

नेपालको उत्तरी छिमेकी जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमणका लागि शनिवार अपरान्ह काठमाडौं आइपुग्नु भएको छ । त्रिभुवन विमानस्थलमा उहाँलाई भव्य स्वागत गरिएको छ ।

नेपालको राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणमा २३ वर्ष पछि चीनका राष्ट्रपतिले नेपालको भ्रमण गर्न लाग्नु भएको हो । यस अघि भारतको औपचारिक भ्रमणमा रहनुभएका उहाँलाई त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्नुभएको थियो । राष्ट्रपति सी विमानस्थलबाट अवतरण गर्नुभए लगत्तै राष्ट्रपति भण्डारीसहित उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री के पी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सििनाले उहाँलाई स्वागत गर्नुभएको हो । सो अबसरमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको समेत उपस्थिति रहेको थियो ।
राष्ट्रपति सीको सम्मानमा नेपाली सेनाको टुकडीले विमानस्थल मै सलामी अपर्ण गरेको थियो ।
विमानस्थलमै उपप्रधान एवम् रक्षा मन्त्री ईश्वर पोखरेल, उपप्रधान एवम् स्थास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादब, सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटासहितका मन्त्रीहरु पनि उपस्थित हुनुहुन्थ्यो ।
राष्ट्रपतिको स्वागतका लागि सडकमा नेपाल सरकारका कर्मचारी, विभिन्न संघ संस्थाका पदाधिकारी तथा सर्वसाधारणको ठूलो उपस्थित रहेको थियो ।
चिनियाँ राष्ट्रपति सीले आजै साँझ राष्ट्रपति निवास शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नुभएको छ भने उहाँले आज साँझ प्रमुख प्रतिपक्षि दलका नेता शेरबहादुर देउवासँगसमेत भेट गर्नुभएको छ । ।
त्यस्तै चिनियाँ राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति भण्डारीले आयोजना गर्नु भएको राजकीय भोजमा सहभागी हुनुभएको छ । सो अबसरमा राष्ट्रपति विद्या भण्डारी र चिनियाँ महामहिम राष्ट्रपति सि जिनपिङले सम्वोधन गर्नुभएको थियो । सो अवसरमा नेपाली सांगीतिक टोली सुरसुधाले राष्ट्रपतिको सम्मानमा सांगीतिक प्रस्तुतीसमेत गरेको थियो ।
राष्ट्रपति सी ले आइतबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नुका साथै मध्यान्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधि मण्डलस्तरीय द्वीपक्षीय वार्ता गर्ने कार्यतालिका रहेको छ ।