साल्ट ट्रेडिङ ५७ औं वर्षमा प्रवेश : मन्त्री यादवद्वारा प्रशंसा
साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडको ५७ औ बार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको प्रमूख आतिथ्यतामा सम्पन्न वार्षिकोत्सवमा मन्त्री यादवले साल्ट ट्रेडिङको भुमिकाको प्रशंसा गर्नुभएको थियो । मन्त्री यादवले छापामा आएका नकारात्मक समाचारको विषयलाई लिएर संचारजगत प्रति रोष प्रकट गर्नुभएको छ ।
राजधानी काठमाडौंमा शुक्रबार आयोजित साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडको ५७ औ बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने क्रममा मन्त्री यादवले नकारात्मक समाचार पस्कने प्रेस जगतप्रति आक्रोश पोखे ।
यादवले पत्रिकाका मालिकहरु व्यापारी पनि भएकाले आफु अनुकुलका समाचार लेखाउने गरेको आरोप लगाउनुभयो । कालोबजारी, तस्कर, भ्रष्ट र विगतमा देश लुटेको पैसा मिडियामा लगानी गरेकाहरु नै आफु र सरकार विरुद्ध केही मिडिया उत्रिएको तर्क यादवको थियो । यादवले भने– “पत्रिकाका मालिकहरु पनि व्यापारी छन् । खुद पत्रिका मात्रै चलाएर बसेका छैनन् । ठूला ठूला व्यापारी छन् । कतिपय मिडियाहरु त कालाबजारी र तस्करहरुको छ । भ्रष्ट, विगतमा देश लुटेको पैसा लगानी गरेको मिडियाहरु पनि छन् । ”
उनले मिडियाले समाचार छापेर आफुसंग पैसाको बार्गेनिङ गरेको पनि खुलासा गरे । राज्यको चौथो अंग भन्ने मिडिया सधै प्रतिपक्षीको भूमिकामा रहेको उल्लेख गर्दै मन्त्री यादवले बार्गेनिङ गर्न खोज्नेप्रति ‘मिडिया म्यानेज’ गर्न नजाने बताउनुभयो । उहाँले भन्नुभयो “आक्रामक हुनुपर्छ रे । नभएको कुरा पनि लेख्दिनुपर्छ भन्ने छ । अनि त्यसपछि ती मन्त्रीहरु म्यानेज गर्न आउँछन् । ती कर्मचारीहरु म्यानेज गर्न आउँछन् । जे जे लेखे पनि मात्तृका कहिल्यै पनि म्यानेज गर्न जादैन । म त्यो कहिल्यै पनि गर्दिन । बरु लेखोस् ,जे जे लेखोस् लेखोस् ।” उहाँले जबरजस्ती पत्रिकाहरुले सरकारलाई साल्टट्रेडिङ्गको विरोधमा उभ्याउने काम गरेको बताउनुभयो । सरकारले निकासी पैठारी सम्बन्धमा अत्यावश्य वस्तु आयातको बारेमा मात्रै भिन्न व्यवस्था गरेको भएपनि साल्टट्रेडिङ्ग कर्पोरेशनले गर्दै आएको काम निजी क्षेत्रलाई दिने कुनै निर्णय नभएको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा संस्थाको कार्यप्रगति र गतिविधिबारे जानकारी दिँदै प्रमूख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले साल्ट ट्रेडिङले लामो समयदेखि निरन्तर रुपमा आम जनतालाई सुपथ मुल्यमा सहज रुपमा गुणस्तरिय सामानहरु र सेवा उपलव्ध गराउँदै आएको बताउनुभयो ।
उहाँले आफूहरुले सरकराले उपलव्ध गराएको रासायनिक मल आयात गरि किसानहरुलाई विक्रि गरेको पनि बताउनुभयो । उहाँले विराटनगरस्थित मोरंग मिल्समा कृषि औजार खरीद गरी उखु खेतमा आधुनिकिकरण गरिएको, गहुँको बीउ प्रशोधन गरी किसान समक्ष पुर्याएको, मलका डिलर तथा किसानलाई विभिन्न देशको अध्ययन भ्रमणमा सहभागि गराएको तथा देशभित्रै पनि तालिमहरु सञ्चालन गरेको जानकारी गराउनुभयो ।
उहाँले दशैं तथा तिहार जस्ता नेपालीको महान चाडको अवसरमा भाद्र २३ गते देखि सुपथ पसल सञ्चालन गरिएको बताउनुभयो ।
वार्षिकोत्सवको अवसरमा संस्थाले हरेक वर्ष गर्दे आएको रक्तदानलाई निरन्तरता दिएको बताउँदै यस वर्ष १ सय ६७ जनाले रगत दान गरेको तथा ७ सय जनाको निशुल्क स्वास्थ्य परिक्षण गराएको पनि जानकारी गराइएको थियोे ।




