एटिएम सिस्टम ह्याक गरेपछि राष्ट्र बैंकमा आपतकालिन बैठक
विभिन्न बैंकका एटीएम सिस्टम नै ह्याक गरी रकम चोरी भएपछि त्यसबारे अनुसन्धान गरी रणनीति तय गर्न राष्ट्र बैंकमा आपतकालिन बैठक बसेको छ र एटिएम ह्याक गरेपछि केही बैंकले काठमाण्डौ उपत्यकामा एटीएम बन्द गरेका छन् ।
चिनिया ह्याकरहरुले नक्कली एटिएम कार्ड बनाएर १ करोड भन्दा धेरै रकम झिकेपछि नविल, प्रभुलगायका केही बैंकले एटीएम बन्द गरेका हुन् ।
लुटिएको रकम अझै बढ्न सक्ने राष्ट्र बैंकले जनाएको छ । ह्याकरहरुले केही बैंकको सिस्टम नै ह्याक गरेको र केही नक्कली एटीएम बनाएर पैसा झिकेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
एटीएम र बैंकिङ प्रणालीको सुरक्षाको बारेमा छलफल गर्न अहिले राष्ट्र बैंकमा बैठक बसेको हो ।
ह्याकिङमा संलग्न ५ जना चिनिया नागरिकलाई प्रहरीले पक्राउ गरेको छ, उनीहरुलाई सार्वजनिक गर्ने तयारी भैरहेको छ ।
काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीले बैंकिङ सिस्टमको भिसा कार्डसँग सम्बन्धित एक सिस्टम ह्याक भएको पुष्टि गरेका छन्। गएराति प्रहरीले एटीएमबाट पैसा चोर्दाचोर्दै पाँच जना चिनियाँ नागरिकलाई दरबारमार्ग क्षेत्रबाट पक्राउ गरेको थियो ।
‘नेपाली बैंकबाट अर्बौं रुपैयाँ चोर्ने योजनासहित ह्यारहरुले नेपालको बैंकिङ प्रणालीमा आक्रमण गरेका रहेछन्’, सुवेदीले भने, ‘तर समयमै सूचना पाएकाले ठूलो क्षति रोक्न सफल भयौँ। बैंकिङ प्रणाली डाउन गरेर भएपनि ठूलो साइबर अपराध रोकेका छौँ। छानबिन भइरहेको छ।’ चाड पर्वको दिनमा एटीएमबाट पैसा निकाल्न नपाउँदा सेवाग्राहीहरु मर्कामा परेका छन् ।
अहिले एनआईसी एसिया र प्रभु बैंकका एटिएम चलेका छैनन्। अन्य बैंकका एटिएम सञ्चालनमा आएका छन्। तर अरु बैंकका एटिएमबाट पैसा निकाल्न सक्ने अवस्था छैन। ह्याकरहरुले यसअघि पनि नेपाली बैंकिङ प्रणालीमा आक्रमण गर्दै आएका थिए। एनआईसी एसिया बैंकमा ह्याकरहरुले निशाना बनाएका थिए। चिनियाँ ह्याकर सक्रिय भएपछि नेपाली बैंकरहरु अहिले बैठकमा छन्।
प्रहरीका अनुसार नेपाली सेवाग्राहीको एटिएमको पिन नम्बर ह्याक गरेर चिनियाँ ह्याकरले ५ करोड रुपैयाँभन्दा धेरै निकाल्न भ्याएका थिए ।