आजको राजनीतिक तालिकाः साझा न्यूनतम कार्यक्रम आउँदै, संसदमा प्रधानमन्त्रीको जवाफ

मूलखबर संवाददाता
काठमाडौं

सत्तारूढ दलहरूको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने भएको छ । बिहान १० बजे सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयबाट साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि सत्तारूढ गठबन्धनले हिजो नै साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने भनेका थिए ।

यसअघि गएको शनिबार सत्ता गठबन्धनको कार्यदलले बालुवाटार पुगेर गठबन्धनका शीर्ष नेताहरूलाई साझा न्यूनतम कार्यक्रम बुझाएको थियो ।

साझा कार्यक्रममा संविधानको रक्षा, आर्थिक विकास र समृद्धि, अर्थतन्त्रका चुनौती समाधान, आम मानिसहरूमा आशा र विश्वास जगाउने, सार्वभौम सत्ता र स्वाधीनताको रक्षा गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ।

 

कार्यदलमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा रहेका थिए।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति वाग्ले र महासचिव डा मुकुल ढकाल, जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्यहरू मनिष सुमन र राजेन्द्र श्रेष्ठ तथा नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल सदस्य रहेका थिए।

संसदमा प्रचण्डको जवाफ

प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन् ।

बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरूले सोध्ने समसामयिक विषयका प्रश्नको जवाफ दिने भएका हुन् । यसका लागि संसद् सचिवालयमा सांसदहरूले पहिले नै प्रश्न टिपाउनु पर्छ ।

संसद् सचिवालयबाट स्वीकृत प्रश्न मात्रै सांसदले प्रधानमन्त्रीलाई सोध्न पाउने व्यवस्था छ ।