जनसाँस्कृतिकर्मी तथा विप्लव नेता माइला लामा मध्यरातमा गिरफ्तार, वार्ताको वातावरण झन विग्रने खतरा

काठमाडौं, ५ साउन ।
जनसाँस्कृतिक आन्दोलनका नेता तथा वरिष्ठ कलाकार माइला लामा पक्राउ परेका छन् । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाको काठमाडौं उपत्यका इन्चार्ज तथा केन्द्रीय सदस्य माइला लामा सहित तीन जना पक्राउ परेका नेपाल प्रहरीले पुष्टि गरेको छ ।

नेपाल प्रहरीले उनलाई शनिवार राती १ः०० बजे काठमाडौंको काँडाघारीबाट पक्राउ गरेको महानगरीय प्रहरी अपराध महाशाखाका टेकुका एक अधिकारीले पु्ष्टि गरेका छन् ।

उनीसँगै काभ्रे जिल्ला घर भइ हाल लाजिम्पाट बस्ने वर्ष ३० का रेशम भनिने कान्छा तामाड , कागेश्वर मनहरा घर भई काँडाघारी बस्ने डोलेन्द्र भट्टराइलाई समेत रहेका प्रहरीले जनाएको छ ।
नागार्जुन नगरपालिका घर भई हाल काँडाघारी डेरा गरी बस्ने माइला लामा यस अघि तत्कालिन नेकपा माओवादीका साँस्कृतिक विभाग प्रमुख तथा सामना साँस्कृतिक परिवारका संस्थापक नेता समेत रहेका थिए ।

प्रहरीले नख्खु, अनामनगर, सुकेधारमा भएका विष्फोटका घटनामा संलग्न रहेको आरोप माइला लामामाथि लगाएको छ । तर उनीमाथि लगाइएका आरोप निराधार र कपोलकल्पीत भएको उनको परिवारले जनाएको छ ।

नेपाली प्रगतिवादी सांस्कृतिक आन्दोलनका सबभन्दा प्रभावशाली समकालीन हस्तीहरुमध्येका एक माइला लामालाई प्रहरीले गिरफ्तार गरेको भन्दै जनकलाकार र साँस्कृतिक कर्मीहरुले विरोध जनाएका छन् ।

दसवर्षे जनयुद्धको जनयुद्धको थालनीदेखि अन्त्य सम्म विभिन्न भूमिकामा रहेर सक्रिय लामा पहिलो संविधासभा निर्वाचनमा काठमाडौं– ९ मा चुनावमा उम्मेदवार बनेका थिए ।

माइला लामा जनयुद्धकालदेखि हालसम्म नै आम सर्वसाधारण जनता, तमाम लेखक–साहित्यकार एवं सबै क्षेत्रका कलाकार–सर्जकहरुबीच निकै आत्मीय, सम्मानित र स्थापित रहेका छन् छन् । उनी भाषण कला, नाटक विधा र गित तथा संगितमा अत्यन्त सफल र पोख्त व्यक्तित्व समेत हुन् ।

जनयुद्धकालमा काभ्रे जिल्लामा भएको एक आन्तरिक दुर्घटनामा परेर लामाको आँखा, कान, हात, खुट्टा र शरीरका अरू विभिन्न भागमा समस्या रहेको छ । अहिले पनि उनका आँखाको दृष्टि र कानको श्रवणशक्ति निकै कमजोर छ ।

विप्लव नेतृत्वको नेकपासँग वार्ताको वातावरण बन्दै गइरहेको बेला लामासहितको सेल्टर घेरा हाली मध्यरातमा गिरफ्तार गरिने कार्यले वार्ताको वातावरण झन विग्रने खतरा पैदा भएको छ । जसले गर्दा देश पुनः द्वन्दको चपेटामा पर्नसक्ने त्रास बढेको छ । राज्यले गम्भीर र संयमित भएर यस्ता गतिविधिलाई न्युनिकरण गर्न आवश्यक छ ।