नेकपा मुख्य नेताहरूकाे जिम्मेवारी ताेकियाे : कसले पाए के ?

काठमाडौं, ४ साउन –

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय सदस्य रहेका तत्कालीन एमालेका ६ जना नेताको छुट्टै बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । बैठकमा जिम्मेवारी बाँडफाँटको विषयमा गम्भीर छलफल भएको छ ।


नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको सहमतिअनुसार तत्कालीन एमालेको भागमा परेको विभागको नेतृत्व टुंगो लगाउन बैठक बसेको नेकपा स्रोतले जनाएको छ ।


अध्यक्षद्वय ओली र प्रचण्डबीच नेकपाका ३२ वटा विभागमा भागबन्डाको सहमति यसअघि नै भइसकेको छ । ३२ विभागमध्ये १८ वटामा तत्कालीन एमाले र १४ वटामा तत्कालीन माओवादीले प्रमुखको जिम्मेवारी लिने सहमति यसअघि नै भइसकेको छ ।


नेकपा सचिवालयमा रहेका तत्कालीन एमालेका ६ नेताले बिहीबार राति आफ्नो पक्षको नेतृत्व टुंगो लगाएका छन् । अध्यक्ष एवं प्रधानमन्त्री ओली, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल सो बैठकमा सहभागी भएको स्रोतको दाबी छ । नेकपाको सचिवालय ९ सदस्यीय छ ।

विदेश विभागमा नेपाल र संगठन विभागमा गौतम

बैठकले विदेश विभाग प्रमुखमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र संगठन विभाग प्रमुखमा वामदेव गौतमलाई बनाउने सहमति भएको जनाएको छ । नेपाल यसअघि पनि तत्कालीन एमालेको विदेश विभाग प्रमुख थिए । नेपाल र गौतम नेकपाभित्र रणनीतिक रूपमा शक्तिशाली नेता हुन् । ओली समूहमा रहेका गौतम पछिल्लो समय ओली समूह छोड्दै नेपाल र दाहाल समूहतिर लागेका थिए । गौतम संसदीय निर्वाचनमा पराजित भएपछि पार्टीभित्र सक्रिय भूमिकाको खोजीमा थिए । उनले अध्यक्षद्वय ओली र दाहाललाई समेत आफूलाई सक्रिय भूमिका दिन आग्रह गर्दै आएका थिए । सुरुमा संगठन विभागको प्रमुख सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापालाई बनाउनुपर्ने प्रस्ताव ओलीले गरेका थिए । तर, दाहाल र नेपालले संगठन विभागको प्रमुख गौतमलाई बनाउन प्रस्ताव गरेका थिए । संगठन विभाग एमालेको भागमा परेपछि गौतमलाई नै बनाउने सहमति ६ नेताहरूको बैठकले गरेको छ ।

देशव्यापी जागरण अभियान

बैठकमा पार्टी एकीकरणका लागि माओवादीसँग भएको सहमतिअनुसार अघि बढ्ने विषयमा समेत चर्चा भएको छ । एकताको बाँकी काम छिट्टै नै टुंगो लगाउँदै देशव्यापी जागरण अभियान सुरु गर्ने विषयमा समेत छलफल भएको बैठकमा सहभागी एक नेताले बताए । नेकपाको सचिवालय बैठक आउँदो आइतबार बस्ने तयारी भएको छ । सोही बैठकमा टुंगो लागेको विभागीय प्रमुखको निर्णयसमेत हुने बताइएको छ ।

नीति अध्ययन प्रतिष्ठानको प्रमुखमा खनाल

यसैगरी, अर्का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री खनाललाई नीति अध्ययन प्रतिष्ठानको प्रमुख बनाउने सहमति भएको छ । तत्कालीन एमालेमा पनि थिंक ट्यांकका रूपमा प्रतिष्ठान रहेको थियो । जसको नेतृत्व खनालले गरेका थिए ।

श्रेष्ठ र पोखरेलको डिमान्ड स्कुल विभाग

पूर्वसहमतिअनुसार विभागीय प्रमुख टुंगो लगाउने तयारी हँुदै गर्दा स्कुल विभागमा विवाद देखिएको छ । नेकपा स्रोतका अनुसार स्कुल विभागमा नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलको दाबी छ । तर, पोखरेल उपप्रधान तथा रक्षामन्त्री रहेकाले उनलाई विभागीय प्रमुख नदिने स्रोतको दाबी छ । पार्टी प्रवक्ताको भूमिकामा रहेका श्रेष्ठलाई अध्यक्षद्वय ओली र दाहालले प्रचार विभागको प्रमुख बन्न आग्रह गरिसकेका छन् । तर, श्रेष्ठले प्रचार विभाग नलिने अडान व्यक्त गर्दै स्कुल विभाग प्रमुख बनाउनुपर्ने दाबी गर्दै आएको छ ।

पार्टीभित्रको शक्तिशाली विभाग मानिने प्रचार र अर्थ तत्कालीन माओवादीको भागमा परेको छ । उता अध्यक्ष दाहाल अस्वस्थ भएका कारण माओवादी भागमा परेका अन्य विभागको प्रमुख बनाउने विषयमा टुंगो लाग्न सकेको छैन ।
अध्यक्ष र महासचिव विभागीय प्रमुख नबन्ने
शीर्ष नेताबीच भएको सहमतिअनुसार अध्यक्षद्वय ओली र दाहाल तथा महासचिव पौडेलले कुनै विभागीय प्रमुख नलिने सहमति भएको छ त्यसैले उनीहरू कुनै पनि विभागको प्रमुख बन्न पाउँदैनन् ।
नेकपामा ३२ विभाग छन् । तीमध्ये संगठन, अर्थ, विदेश, स्कुल, प्रचार, मोर्चालगायतलाई शक्तिशाली विभागका रूपमा लिने गरिन्छ । प्रत्येक विभाग ३५ सदस्ययी हुनेछ । जसमा तत्कालीन एमालेबाट २० र माओवादीबाट १५ जना सदस्य हुनेछन् । ३२ विभागमध्ये १८ एमाले र १४ माओवादीको भागमा परेका छन् ।

जिल्ला मञ्चमा यस्तो छ सहमति

शीर्ष नेताबीच ७७ जिल्लामध्ये ४४ जिल्लाको इन्चार्ज एमाले र ३३ जिल्लाको इन्चार्ज माओवादीले लिने सहमति भएको छ । यद्यपि, दुई जिल्लामा विवाद भएकाले यो संख्यामा हेरफेर हुन सक्ने नेताहरू बताउँछन् ।
यसैगरी, ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी रहकाले सबैलाई जिम्मेवारी दिनुपर्ने भएकाले एक जिल्लामा दुई सहइन्चार्ज हुन सक्नेछन् । यद्यपि, यसमा सहमति जुट्न बाँकी नै छ । यसैगरी, महानगर, उपमहानगरहरूमा केन्द्रीय सदस्यलाई नै इन्चार्ज बनाउने सहमति भएको छ ।
नेकपामा लेखा आयोग, अनुशासन आयोग र निर्वाचन आयोग छन् । तीनमध्ये दुई लेखा र अनुशासन आयोग एमालेले लिने र निर्वाचन आयोग माओवादीले लिने सहमति भएको छ । लेखा आयोगमा डा. पुष्प कँडेल र अनुशासन आयोगमा अमृत बोहरा रहने सहमति भएको बताइएको छ । तर, यो विषयमा अन्तिम निर्णय हुन बाँकी नै छ । यसैगरी, निर्वाचन आयोगमा अमिक शेरचनलाई ल्याउने अध्यक्ष दाहाल निकट नेताहरू बताउँछन् ।


यसैगरी, नेकपाको केन्द्रीय सल्लाहकार परिषद्मा केशव बडाल र ज्येष्ठ कम्युनिस्ट मञ्चमा एनके प्रसार्इंलाई ल्याउने तयारी भएको छ । सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्च २ सय २१ सदस्यीय हुने प्रस्ताव गरिएको समाचार राजधानी दैैनिकमा छ ।