सरकारले ज्येष्ठ नागरिकको जिम्मा लिनुपर्छ : राष्ट्रिय मानवअधिकार आयोग
काठमाडौं, ३ साउन ।
राष्ट्रिय मानव अधिकार आयोगले ज्येष्ठ नागरिकहरुको पालनपोषणको जिम्मवारी लिन सरकारलाई सचेत गराएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले ज्येष्ठ नागरिकहरुको पालनपोषणको उचित व्यवस्था गर्ने दायित्वबोध गर्न सरकारलाई सचेत गराउनु भएको हो ।
उहाँले छोराछोरीलाई मात्रै ज्येष्ठ नागरिकको पालनपोषणको जिम्मेवारी लिने गरी ‘ज्येष्ठ नागरिक सम्बन्धि कानुन’ निर्माण गर्न सरकार लागि परेको उल्लेख गर्दै असन्तुष्टि पनि जनाउनु भयो ।
अध्यक्ष शर्माले ज्येष्ठ नागरिकलाई पालनपोषण गर्ने दायित्व राज्यको हुने संविधानमै व्यवस्था गरिएको स्मरण गराउँदै त्यसको पूर्ण पालना गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।
बिहीबार आयोग आफैले ज्येष्ठ नागरिकको सम्बन्धमा सरकारले संसदमा पेश गरेको विधेयकमाथिको छलफल कार्यक्रममा बोल्दै उहाँले ज्येष्ठ नागरिकको उचित पालनपोषणका लागि राज्यले छुट्टै संवैधानिक आयोग बनाउनुपर्ने तर्क पनि गर्नु भयो ।
अध्यक्ष शर्माले सरकारले ऐन, कानुन बनाउने तर त्यसको उचित ढंगले कार्यान्वयन नगराउने काम हुने गरेको भन्दै त्यसप्रति पनि असन्तुष्टि जनाउनु भयो । उहाँले ज्येष्ठ नागरिकलाई परिवारबाट अलग हुने गरी कानुन बनाउने काम नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।
