खबरदार ! हामी अरुका कारणले होइन हाम्रै कमजोरीले सिध्दिने हो– प्रचण्ड
काठमाडौं, ३१ असार ।
नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री प्ष्पकमल दाहाल प्रचण्डले अरुका कारण नभई आफ्नै कमजोरीका कारण नै कम्युनिष्टहरु सिध्धिने बताउनुभएको छ ।
कम्युनिष्ट नेतृत्वको सरकारप्रति जनताका आलोचनाको दर बढिरहेको बेला अध्यक्ष प्रचण्डले नेकपा ललितपुरको जिल्ला कमिटिको शपथ ग्रहण कार्यक्रममा सम्बोधन गर्दै कार्यकर्तालाई होसियार हुन आग्रह गर्दै उक्त धारणा राख्नुभएको हो ।
कम्युनिष्ट नाम र साइन बोर्ड राख्दैमा जनताले सधैं समर्थन र साथ दिन्छ भनेर सोच्नु नहुने बताउँदै प्रचण्डले आफूहरुबीचमा कुनै विवाद नभएको पनि बताउनुभयो । उहाँले रुस, पेरु, क्युवा लगायतका देशहरुमा कम्युनिष्टहरुले पराजय भोग्नु परेको कारण अरु प्रतिक्रियावादी वा साम्राज्यवदीको कारण नभई आफ्नै भित्रको पलायन र स्खलनले गर्दा भएको बताउनुभयो ।
प्रचण्डले अब पार्टी एकताको सबै काम सकिएको र केही खाली स्थान भर्न मात्रै बाँकी रहेको बताउँदै अब एकताबद्ध हुन कुनै पनि शक्तिले राेक्न नसक्ने बताउनुभयो । प्रतिक्रियावादीहरुले नेताहरुलाई एक आपसमा फाटो पार्न र फुटाउन लागिरहेको बताउँदै आफूहरुले टुंगाएको एकतासम्वन्धी विषयलाई सचिवालय र स्थायी समितिका बैठकबाट अनुमोदन गराई केन्द्रीय समितिको बैठकबाट लागु गराउने स्पष्ट पार्नुभयो ।