सरकारसँग डराएर सभामुखले बैठक रोके – देउवा

काठमाडौं, ३० असार ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले साउन ८ गतेसम्म प्रतिनिधिसभा बैठक स्थगित गरिएकोमा आपत्ति जनाएको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद सचिवालयले सोमबार सूचना टाँस गरी आगामी साउन ८ गते बुधबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेकोमा आपत्ति जनाउनु भएको हो ।

उहाँले मुलुक बाढी, पहिरो र डुबानको राष्ट्रिय विपत्तिमा परेका बेला संसदमा छलफल गरेर अघि बढनुपर्नेमा प्रतिनिधिसभा बैठकनै स्थगित गरेर केपी ओली नेतृत्वको सरकारले बदमासी गरेको आरोप पनि लगाउनुभयो ।

सभापति देउवाले सोमबार संघीय संसद भवन, नयाँ बानेश्वरमा संचारकर्मीहरुमाझ संक्षिप्त प्रतिक्रिया दिँदै बाढी, पहिरो र डुबान पीडितको पक्षमा संसदमा पनि छलफल गरेर अघि बढनुपर्ने बेलामा सरकारले प्रतिनिधिसभा बैठक स्थगित गराएकोमा निन्दा समेत गर्नु भयो । ‘विपत्तिका बेला सिंगो संसद एकतावद्ध भएर अघि बढन आफ्नो पार्टीले सो विषयमा छलफल गर्न संसद सचिवालयमा प्रस्ताव दर्ता गराएको थियो,’ सभापति देउवाको भनाई थियो, ‘तर सरकारले राष्ट्रिय संकटमा बेलामा पनि सो विषयमा संसदमा छलफल गर्न नदिन प्रतिनिधिसभा बैठक अचानक स्थगित गरायो ।’

सभापति देउवाले राष्ट्रिय संकटमा बेला संसद बैठकमा सो सम्बन्धमा छलफल गर्ने संचारभरकै संसदीय प्रचलन भएपनि सभामुख कृष्णबहादुर महराले सरकारसँग डराएर प्रतिनिधिसभा बैठक स्थगित गरेको दावी पनि गर्नु भयो ।

उता सरकारसम्वद्ध नेकपाले भने कांग्रेसले गृहमन्त्रीलाई बोल्न नदिनको लागि संसदमा फरक प्रस्ताव दर्ता गराएको भन्दै संसद स्थगितमा कांग्रेसको हात रहेको आरोप लगाएको छ ।