जलवायु परिवर्तनको असर कम गर्न जततालाई शसक्त पार्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं, ३० असार –
प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनले पारेको नकारात्मक असरलाई न्यूनिकरण गर्न जनतालाई सशक्त बनाउँदै लैजाने योजना अघि सार्नु भएको छ ।

प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका कारण विश्व अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावलाई न्यूनिकरण गर्न विश्वस्तरमा सहकार्यको आवश्यक्ता रहेको पनि बताउनु भयो ।
सोमबारबाट काठमाडौंमा सुरु भएको जलवायु परिवर्तनसम्बन्धि अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले विकसित राष्ट्रहरुको कार्बन उत्सर्जनका कारण अतिकम विकसित राष्ट्रहरु पनि जलवायु परिवर्तनको मारमा परेको पनि स्मरण गराउनु भयो ।

प्रधानमन्त्री ओलीले नेपालले आगामी मार्च महिनामा जलवायु परिवर्तन सम्बन्धि विश्वस्तरीय ‘सगरमाथा संवाद’ कार्यक्रम आयोजना गर्ने उल्लेख गर्दै त्यसमा सहभागी हुन पनि वैज्ञानिकहरुलाई आग्रह गर्नु भयो । सम्मेलनमा जलवायु परिवर्तनले पारेका नकारात्मक असर न्यूनिकरणसम्बन्धि ठोस योजना तय गर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।

कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनले पारेका नकारात्मक असरलाई न्यूनिकरण गर्न पर्वतीय मुलुकहरुले मिलेर काम गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले सरकारले जलवायु परिवर्तनले नेपालको कृषि क्षेत्रमा पारेको नकारात्मक असरलाई न्यूनिकरण गर्न अन्तराष्ट्रिय संघ, संस्थाहरुसँग सहकार्य गरेर काम गरिरहेको पनि बताउनु भयो ।

वन तथा वातवरण मन्त्रालय र अन्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसिमोड) को संयुक्त आयोजनामा सूरु भएको सो सम्मेलनमा जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत हिन्दुकुश हिमालय क्षेत्रका नीति, निर्माता तथा अनुसन्धानकर्मीहरुको सहभागि भएका छन ।